पोखरा, १ जेठ । पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागिएको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिको सिफारिसलाई महासंघको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो ।
पत्रकार शर्मालाई जेठ ९ गते नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभामा नगद २५ हजार रुपैयाँ र सम्मान पत्रबाट सम्मान गरिने अध्यक्ष बरालले जानकारी दिए ।
पर्वतको कुस्मा नगरपालिका–१३, खौलालाँकुरी पर्वतमा वि.सं. २०३२ सालमा जन्मिएका लालप्रसाद शर्माले २०५४ सालदेखि पत्रकारिता सुरु गरेका हुन् । सुरुवाती दिनमा नारी सन्देश पत्रिकामा लेखरचना प्रकाशित गरी पत्रकारितामा लागेका शर्माले आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिकामा काम गरिसकेका छन् । उनले पर्वतबाट प्रकाशित हुने ’निष्पक्ष अभिमत’ पत्रिकामा सहसम्पादक भएर काम गरेका थिए
शर्माले २०५७ जेठदेखि २०८० माघसम्म कान्तिपुर पत्रिकामा काम गरे । त्यहाँ उनले २०७६ देखि २०८० सम्म गण्डकी प्रदेश ब्यूरो संयोजकको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालेका थिए । उनी अहिले ढोरपाटन दैनिकमा सहसम्पादकको रुपमा कार्यरत छन् ।
शर्मा संसदीय पत्रकार मञ्च गण्डकीको संस्थापक अध्यक्ष हुन् । व्यावसायिक पत्रकारिताका अलावा उनी आफ्नो जन्मथलो पर्वत र हालको कर्मथलो पोखराका विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि उत्तिकै सक्रिय छन् ।
यस अघि उनले प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, क्याप्टेन रुद्रमान गुरुङ स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार, खानेपानी तथा सरसफाई पुरस्कार, पोखरा उद्योग वाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार, सदाचार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । यसबाहेक उनले लायन्स स्वास्थ्य दर्पण हेल्थ अवार्ड, एसओएस चिल्ड्रेन्स भिलेज इन्टरनेशनलले आफ्नो ७० औं वार्षिकोत्समा सम्मानसहित विभिन्न संघसंस्थाहरूबाट समेत पुरस्कृत भइसकेका छन् ।






