पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम !

पोखरा, २७ वैशाख ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ ।


वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् । उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए । उनले भने, ॅकलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी र राम्रा पक्षलाई केलाएर समाजलाई सही मार्गमा डोर्‍याउने काम गर्छ ।’ पत्रकारिता क्षेत्र निकै नै महत्वपूर्ण रहेको र यसले सरकारलाई सधैँ झकझकाउने र समाजलाई व्यवस्थित बनाउने भूमिका खेल्ने उनको भनाइ थियो ।


वर्तमान समयमा प्रविधिको विकास र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युग सुरु भइसकेको सन्दर्भमा पत्रकारितालाई अझ सशक्त बनाउनुपर्नेमा उनको जोड थियो । यो तालिमले पत्रकारहरूलाई नयाँ प्रविधि, मल्टिमिडियाको प्रयोग र बदलिँदो समयको लय समात्न ठूलो सहयोग पुर्‍याउने उनको विश्वास थियो । तालिमको सैद्धान्तिक र व्यावहारिक पक्षबारे चर्चा गर्दै उनले भने, ॅकुनै पनि तालिमले ज्ञान, दृष्टिकोण र सीप गरी तीनवटा कुरा प्रदान गर्छ । यो तालिमले पत्रकारिताको ज्ञानका साथै यस क्षेत्रमा हुनुपर्ने सही दृष्टिकोण र समाचारलाई प्रभावकारी बनाउने सीप विकास गर्नेछ ।’ उनले कहिलेकाहीँ केही सञ्चार माध्यमका कारण समग्र पत्रकारिता क्षेत्रकै बदनाम हुने गरेको प्रति सचेत गराउँदै तालिमले पत्रकारहरुको कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र ॅमोबाइल जर्नालिज्म’ को महत्व बढ्दै गएको बताए । पहिले हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उनले उल्लेख गरे । पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ॅसमय आन्दोलन’ को अभियान समेत सुरु गरेको उनले बताए । तालिममा सहभागीहरुले प्रशिक्षकबाट धेरै प्रयोगात्मक ज्ञान हासिल गर्ने विश्वास समेत उनले व्यक्त गरे ।
तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । महासंघ कास्कीका सचिव भूपाल गुरुङले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष माधव रेग्मीले स्वागत गरेका थिए ।
पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको छ । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी छन् ।

Advertisment