पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ ले पोखरा रंगशालाभित्र रहेका विभिन्न खेल पूर्वाधारहरूको स्थलगत निरीक्षण गरेकी छन् । रंगशाला परिसरका खेल स्थलहरूको अवस्था बुझ्न पुगेकी मन्त्री गुरुङले त्यहाँ भइरहेका गतिविधि, पूर्वाधारको अवस्था तथा खेलकुद क्षेत्रका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएकी हुन् ।

निरीक्षणका क्रममा मन्त्री गुरुङले विभिन्न खेलका पदाधिकारी तथा खेलाडीहरूसँग भेटघाट गर्दै उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे छलफल गरिन् । खेलाडीहरूले खेल सामग्रीको अभाव, पर्याप्त बजेट नहुँदा परेको कठिनाइ तथा पूर्वाधार व्यवस्थापनका समस्याबारे मन्त्रीसमक्ष गुनासा राखेका थिए ।

सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ ले पोखरा रंगशालामा सञ्चालन भइरहेका गतिविधिबारे मन्त्रीलाई विस्तृत जानकारी गराउँदै अपूरा पूर्वाधार निर्माण, स्तरोन्नति तथा खेलमैत्री वातावरण निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिदिन विशेष आग्रह गरे ।

त्यसैगरी कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपाली ले पोखरा रंगशालालाई प्रदेशकै उत्कृष्ट खेल पूर्वाधार केन्द्रका रूपमा विकास गर्न सरकारको थप सहयोग आवश्यक रहेको बताए । उनले खेलकुद गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक स्रोतसाधन, पूर्वाधार व्यवस्थापन तथा नियमित बजेटको आवश्यकता रहेको धारणा राखे ।

सरोकारवालाका माग तथा सुझाव सुनेपछि मन्त्री गुरुङले पोखरा रंगशालाको विकास र विस्तारका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । खेलकुद क्षेत्रको समग्र सुधार र खेलाडीमैत्री वातावरण निर्माणमा आफू निरन्तर सक्रिय रहने उनको भनाइ थियो ।
मन्त्रीको निरीक्षण तथा सक्रियताले कास्की जिल्ला खेलकुद विकास समितिलाई थप उत्साहित बनाएको भन्दै समितिले मन्त्री गुरुङप्रति हार्दिक आभार व्यक्त गरेको छ ।






