आंशिक प्राध्यापक संघको संघर्ष जारी

पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गत न्यून वेतनमा कार्यरत आंशिक प्राध्यापकहरुले २०७५ वैशाख १६ गतेदेखि सुरु गरेको कक्षा बहिष्कार लगायत आन्दोलनको कार्यक्रम आज पनि जारी रह्यो । पृथ्वीनारायण क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पसको पठनपाठन आज पनि ठप्प पारेका छन् । लामो समयदेखि दैनिक न्यून पारिश्रमिकको भरमा पूरा कक्षाभार लिँदै गर वा मरको अवस्थामा रहेका आंशिक प्राध्यापकहरुको आन्दोलनमा प्राध्यापक सम्वद्ध संघ संगठनहरुले समते ऐकेवद्धता जाहेर गरेका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका कार्यवहाक अध्यक्ष विष्णु अधिकारीले त्रि.वि.वि. प्रशासनको रवैया र अर्कमण्यताका कारण लामो समयसम्म समस्या समाधान हुन नसकेको अवस्थामा आंशिक प्राध्यापकका जायज मागलाई यथाशिघ्र सम्बोधन करारमा समायोजन गर्न जोडदार माग गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल पृथ्वीनारायण क्याम्पसका सचिव बोधराज ढकालले आंशिक प्राध्यापकहरुको यो आन्दोलन रहर नभइ बाध्यता भएको र विगतको करारमा लैजाने निर्णय शिघ्र कार्यान्वयनका लागि जोडदार माग गरेका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन पृथ्वी नारायण क्याम्पसका अध्यक्ष यादवराज उपाध्याय र सचिव बाबुराम शर्माले विज्ञप्ती मार्फत् त्रि.वि.वि. प्रशासन क्षेत्रमा रहेको गलत रवैया तथा अकर्मण्यताका कारण लामो समयदेखि यस समस्याप्रति सम्बोधन हुन नसकेको वर्तमान परिस्थितिमा आंशिक प्राध्यापकहरूले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन गरी आंशिकबाट पूर्णकालीन अर्थात करार सेवामा समायोजन गर्नका लागि जोडदार माग गरेका छन् ।

यसै बिच त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ः जसमा २०७५÷१÷२० गते सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र प्रशासनको कार्य कक्षमा तालाबन्दी गर्ने, सम्पूर्ण क्याम्पसहरुको मुल गेटमा आन्दोलनको कार्यक्रम प्रष्ट पार्ने गरी कालो व्यानर राख्ने, २०७५ वैशाख २२ गते बिहान ८ बजे देखि देशभरिका सम्पूर्ण आंशिक प्राध्यापकहरुको उपस्थितिमा त्रि.वि. केन्द्रीय कार्यालय घेराउ र धर्ना कार्यक्रम अगाडि बढाउने योजना रहेको संघका केन्द्रीय अध्यक्ष डा. महेश कुमार गजुरेल, आन्दोलन संयोजक नरेन्द्र प्रसाद भण्डारी र महासविच केशव चन्दले बताएका छन् ।

Advertisment