फुम्रोखुँ बराह माबिको वार्षिकोत्सव

पोखरा, १७ वैशाख ।अन्नपूर्ण गाँउपालिका वडा नं १० घान्द्रुक किल्युमा रहेको फुम्रोखुँ बराह माविको ५६ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका वीच विद्यालय परिसरमा वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो ।

सो कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले विद्यालयका संस्थापक, जग्गादाता तथा स्थानीय समाजसेवी गोकुलमान गुरुङलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए । गत वर्षको उत्कृष्ट अभिभावकका रुपमा सीता नेपाली, शिक्षकमा लक्ष्मी लामिछाने र शिव लामिछाने पनि सम्मानित भएका छन् । विद्यालयको शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई पनि सोही कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

वार्षिक उत्सवका अवसरमा प्रमूख अतिथिको मन्तव्य व्यक्त गर्दै युवा तथा खेलकूल मन्त्री विश्वकर्माले विद्यालयको भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विगतमा राज्य संचालन गर्नेहरुले स्रोतसाधनको उचित उपयोग नगरेको कारण अहिले समस्या देखिएको बताए । निर्वाचनबाट गठन भएको वर्तमान सरकारले देशलाई विकास र समृद्धिको मार्गमा लैजानका लागि योजनावद्ध रुपमा कार्य गर्ने उनको भनाइ छ । मन्त्री विश्वकर्मा कास्की क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक दीपक क्षेत्रीले मन्त्री समक्ष विद्यालयको भौतिक अवस्थाका बारेमा जानकारी दिएका थिए । वडा नं १० का वडाध्यक्ष कुमार गुरुङले पनि खेल मैदानको निर्माण, सडकको स्तरोन्नति, झोलुङ्गे पुलको निर्माण लगायतका स्थानीय समस्याका बारे ध्यानाकर्षण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०११ सालमा भारतीय सेनाबाट पेन्सनमा आएका स्थानीय समाजेसवी स्व. बखतमान गुरुङले त्यस पछि त्यहाँ पठनपाठन कार्य अगाडि बढाएका थिए ।

उनको पहलमा शुरु गरिएको सोही विद्यालयले वि.सं. २०१९ सालमा औपचारिक रुपमा सरकारबाट संचालनको स्वीकृति पाएको थियो । स्वं गुरुङ र उनका पुत्र गोकुलमानले विद्यालयका लागि जग्गा प्रदान गरेका छन् । सोही जग्गामा विद्यालयको भवन निर्माण भइ पठनपाठन संचालन भइरहेको छ । हाल दुई सय ४६ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा सरकारी र निजी गरी १२ जना शिक्षक शिक्षिका कार्यरत छन् । मलेसिन नागरिक गुरु आनन्दले दुई जना निजी शिक्षकलाई मासिक तलब प्रदान गर्र्दै आएका छन् । भुकम्पले भत्काए पछि निर्माण गरिएको आठ कोठे आधुनिक भवनका लागि उनले एक करोड सहयोग रकम प्रतिवद्धता गरी पहिलो किस्तामा २० लाख प्रदान गरेका छन् ।

Advertisment