अप्रिल २७ न्युयोर्क,
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले नेपाली समुदायका युवाहरूलाई लक्ष्यित गरि न्युयोर्कमा अबका युवाहरूलाई कसरी सशक्तिकरण बनाउने, सम्पदाको संरक्षण गर्ने र समुदाय निर्माण गर्ने सम्बन्धि ‘युवा सशक्तिकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।

फिप्ना(FIPNA) ले शनिबार दिउँसो न्युयोर्क स्थित अपिचा कम्युनिटी हेल्थ सेन्टरको हलमा कार्यक्रम आयोजना गरेको हो ।

फिप्ना(FIPNA) का अध्यक्ष तोरण गुरुङ ज्युको सभापतित्व तथा (महिला उपाध्यक्ष) ममता राईको शैक्षिक प्रेरक मन्तब्यबाट शुरुआत गरिएको थियो ।

सो कार्यक्रम युवा संलग्नता, नेतृत्व र वकालत मार्फत सांस्कृतिक पहिचान, आदिवासी गौरव र समुदाय निर्माणको परिचय दिएर फिप्ना (FIPNA)को अभियानतर्फ आउँदो पुस्ताका युवाहरूलाई सशक्त र प्रोत्साहित गर्ने विषयगत कार्यक्रमको उद्देश्य रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा फिप्नाका महासचिव दीपक चौधरीले यसका गतिविधिहरूको बारे परिचय दिनुभयो।

दोस्रो चरणमा युवाहरूको समूह छलफलको लागि तिन वटा समुहमा विभाजन गरी मध्यस्थकर्ता फिप्नाका सह-कोषाध्यक्ष दावा ल्हामो शेर्पाले छलफल गराउनुभयो ।

कार्यक्रममा : एक आदिवासीको रूपमा तपाईंको लागि नेतृत्वको अर्थ के हो ?, अर्को पुस्ताका युवाहरूलाई संलग्न गराउन तपाईं FIPNA लाई के सिफारिस गर्नुहुन्छ ? र नेपाली आदिवासी युवा भएको नाताले, तपाईं आफ्नो संस्कृति र सम्पदाको कसरी प्रवर्द्धन गर्नुहुन्छ ? जस्ता प्रश्नहरू सोधिएको थियो भने तेस्रो चरणमा अतिथि तथा प्रशिक्षक पेमा शेर्पा (माइन्डफुलनेस अनुसन्धानकर्ता )द्वारा सम्पुर्ण सहभागीहरुलाई अहिलेको समयमा युवाहरूमा मानसिक स्वास्थ सम्बन्धि आवश्यकता तथा यसको उपचार विधिबारे उल्लेख गरेकी थिइन् ।

सो युवा सशक्तिकरण छलफलमा गरिएको निष्कर्षमा – यस्तो कदमहरूले अर्को पुस्ताका लागि अवसरहरू बढाउँदै लगेको देखियो भने यस प्रयासले युवा पुस्तालाई नयाँ अवसर र सामर्थ्यको वातावरण प्रदान गर्ने तथा युवा आदिवासी जनजातिलाई युवा संलग्नता, नेतृत्व र वकालत मार्फत समुदाय निर्माणको आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षाको निष्कर्ष गरिएको छ ।

कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय कराँते खेलाडी सन्तोष राईलाई फिप्ना(FIPNA)का अध्यक्ष तोरण गुरुङले प्रशंसा – पत्र सहित खादा लगाएर सम्मान गर्नुभयो । साथै कार्यक्रमको प्रचारप्रसारको लागि भिडियो बनाई सहयोग गर्ने भाईबहिनीहरूलाई धन्यवाद दिदै कार्यक्रमको समापनको घोषणा फिप्ना(FIPNA)का अध्यक्ष तोरण गुरुङ ज्युले गर्नुभएको थियो ।
