तमु समाज हङकङद्वारा पर्वत मञ्च हङकङलाई राहत रकम हस्तान्तरण

हङकङ, २४ असार
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङ, ढकालबारीका पहिरोपीडित परिवारका लागि तमु समाज हङकङको पहलमा संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।
सो राहत रकम बुधबार पर्वत मञ्च, हङकङलाई हस्तान्तरण गरिएको हो । मञ्चले पहिरोपीडितका लागि राहत रकम संकलन गरिरहेको छ । मञ्चकै आग्रहमा तमु समाज हङकङले संकलन गरेको १० हजार ५ सय २ हङकङ डलर (झण्डै १ लाख ६० हजार नेपाली रुपैयाँ) मञ्चलाई हस्तान्तरण गरिएको हो । बुधबार आयोजित एक कार्यक्रमका बीच सो राहत रकम हस्तान्तरण गरिएको थियो ।


तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’को अध्यक्षतामा भएको कार्यक्रममा पर्वत मञ्च, हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, हङकङका अध्यक्ष मनप्रसाद गुरुङ, नेपाली जनसम्पर्क समिति, हङकङका सभापति मीनबहादुर गुरुङ, सोंपाल तमु समाज, हङकङका अध्यक्ष यामबहादुर गुरुङ, कोन्मै घोथाने गुरुङ समाज, हङकङका सल्लाहकार काशीराम गुरुङ, पर्वत मञ्च, हङकङका उपाध्यक्ष भीमबहादुर गुरुङलगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तमु समाज, हङकङकी सचिव अनिता गुरुङले गर्नुभएको थियो । कार्यक्रममा पहिरोमा परी मृत्यु भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।
अविरल वर्षाका कारण गत जेठ ३१ गते दुर्लुङको ढकालबारीमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको थियो । पहिरोपीडितका लागि पर्वत मञ्च, हङकङले सुरु गरेको राहत संकलन अभियानमा हालसम्म सहयोग गर्ने क्रम जारी रहेको र निकट भविष्यमा संकलित राहत रकम पहिरोपीडितसम्म पु¥याइने मञ्चका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो ।

Advertisment