सरकारद्वारा नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक

काठमाडौं, ७ जेठ
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्सा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्शा सार्वजनिक गर्नुभएको हो । नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
नयाँ नक्सा सार्वजनिकसँगै नेपालको भूगोलको क्षेत्रफल पनि बढ्ने छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकामा अब ३ सय ३५ वर्ग किलोमिटर थपिने छ । गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसद्मा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो । यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो । नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो ।

Advertisment