मेयर सा’ब पोखरालाई कोरोनारहित घोषणा गरौं

–हुमबहादुर गुरुङ
नयाँ जन्मने भाइरसले अनेकन समस्याहरू निम्त्याउने गरिरहेको छ। अहिले महामारीको रुपमा फैलिएको नोवल कोरोना,सबै भन्दा पछिल्लो शक्तिशाली भाइरसको रुपमा क्रियाशील छ। भाइरसको भाइखलकमा आधुनिक युगको प्रविधिले सुसज्जित पछिल्लो सन्तानको रुपमा जन्मेर ताण्डब नृत्य नचाइरहेको छ,कोरोनाले। जसको औषधि नै बनेको छैन, आशा गरौं छिट्टै नै ओखती बन्नेछ।विगतमा यस्तै भाइरसहरु एचआइभी, सार्स, स्वाइन फ्लु विभिन्न नामबाट समस्याको रुपमा थिए।
चिनको वुहानमा सन् २०१९ डिसेम्बर १० तारेखमा पहिलो पटक देखा परेको कोभिड–१९ कोरोना भाइरसले अहिले संसारमा आतंक नै मच्चाईरहेको छ । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् ।
संक्रमितमध्ये ४७ हजार बढीको अबस्था गम्भीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ६४ हजार ८ सय ८५ जना संक्रमित छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ । स्पेनमा थप ७ सय जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ ।
अर्को यूरोपेली मुलुक इटलीमा १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् । १ हजार ८ सय १० जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।
उता इरानमा संक्रमितको संख्या ६० हजार ५ सय र ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या बढेर ५१ हजार ६ सय ८ पुगेको छ । ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ । त्यहा संक्रमितको संख्या ४ हजार ६ सय ८१ र मृतकको संख्या १ सय ८७ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ । इटाली, स्पेनमा अलि हेलचक्र्याई गरियो रे त्यसैले मृत्युदर धेरै बढ्यो भन्ने सुनिन्छ । अब चीनबाट नेपाल र नेपालीले पाठ सिक्नुपर्दछ इटाली, स्पेन, इरानहरूका घटनाक्रमहरूबाट सतर्कता अपनाउनुपर्दछ।
नेपालको छिमेकी मुलुक भारतमा ७२७ जना संक्रमित भएकोमा २० जनाको कोरोनाबाट ज्यान गएको छ भने पछिल्लो चौबिस घण्टाभित्र ८ जनाको मृत्युले नेपाल र नेपालीले अझ सोच्नुपर्ने अवस्था छ। नेपालमा पनि ३ जना संक्रमित मध्ये एक जना आइसोलेशनबाट घर फर्किसकेको छ भने २ जना अझै आइसोलेशनमै रहेकाछन। उडेर आएका संक्रमितहरु गुडेर गाँउघर पुगेनन् भन्न कहाँ सकिन्छ र । महामारी फैलिएको मुलुकहरुबाट नेपाल फर्केकाहरु देशैभर पुगेकाछन्।बिमानस्थल र नेपाल प्रवेशद्वारहरूमा समयमै न्यूनतम सावधानी समेत सरकारले अपनाउन नसक्दा संक्रमितहरु नेपालमा छैनन भन्न सकिदैन, बरु परिक्षणको समस्या भएको सुनिन्छ । चैत्र ४ गते फ्रान्सबाट कतार एयरवेज हँुदै नेपाल आएकी युवती संक्रमित भएको पुष्टि पश्चात ढिलै भएपनि चैत्र ११ गते मंगलवारबाट १८ गते मंगलवारसम्म नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ। संक्रमित युवती सवार एयरवेजका १५८ यात्रु मध्ये १२५ पहिचान मात्र भएको र उनीहरु सबैलाई क्वारेण्टाइन वा आइसोलेशनमा अझै राख्न सकेको छैन । सरकारको संयन्त्र पनि उस्तै, उक्त जहाज सवार सम्बन्धित यात्रुहरू पनि स्वसम्पर्कमा आउनुपर्नेमा नआएकाले कोरोनाको त्रासदी बढेको छ। नेपालमा पहिलो पटक सुनिएको आयतित नाम लकडाउनबारे जनता सुसूचित भएनन्, नेपाल बन्द जस्तो ठाने जस्तो छ। सरकारले पनि लकडाउन घोषणा गर्नु तयारी गर्न पनि भ्याएन र नागरिकले गर्नुपर्ने बन्दोबस्तीको समेत अवसर नपाएको गुनासाहरु सुनिएका छन् । जनताका समस्यामा सरकार गम्भीर बन्नुपर्ने नै होला ।
महामारीको संकटकालिन अवस्थामा लकडाउन घोषणा गरेको संघीय र प्रदेश सरकार अनि स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न सक्नुपर्दछ, कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्क्षण कार्यक्रम, अभियानहरु अघि बढाउनुपर्दछ । साँचो अर्थमा तिन तहको सरकारमा मुलुक हाँक्ने अर्थात नेतृत्व गर्ने नैतिक हैसियत देखिनु जरुरी छ । संघीय ओली सरकार, प्रदेश गुरुङ सरकार र महानगर जिसी सरकारलगायतले घरभित्रै बसौं, हात सावुन पानी धोऔं, सेनिटाइजर प्रयोग गरौं,….. नम्बरमा सम्पर्क गर्नुहोला लगायत आदि आदि… सन्देशले मात्र कोरोना भाइरसको महामारी रोकथाममा सार्थकता कति पाउला हेर्न बाँकी नै छ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ज्यू र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी ज्यूले महानगर कार्यालयतिरबाट किटनाशक औषधि छर्न शुरु गर्नुभएछ। सय लिटर मात्र किन पोखरा र प्रदेशका शहर बजारहरु सबै ठाउँमा यस्ले निरन्तरता पाउनुपर्दछ। हामी बसोबास गर्ने प्रदेश राजधानी पोखरालाई सेनिटाइज्ड किन गर्न खोजिँदैन ? लकडाउन घोषणा गरेर घरबाट ननिस्क भन्ने सरकार र जनप्रतिनिधिहरू मोवाइलमा तास, लुडो खेलेर हुन्छ ? नागरिकलाई सेनिटाइजर प्रयोग गर, बारम्बार साबुन पानीले हात धोऔं लगायतका आग्रहसहित विज्ञप्ति, सूचना, सन्देस प्रवाह गरिरहेर मात्र हुन्छ र ?जनतालाई साबुन पानीले हात धोउ भन्न नथाक्ने स्मार्ट पोखरा महानगरपालिकाका मेयर पोखरालाई दैनिक साबुन पानीले पखाल्न सकिँदैन ? अहिले क्वारेण्टाइन निर्माणमा अलि बढी ध्यान लगाए जस्तो छ।समन्वय गर्नुस सहयोग गर्न सबै तयार छन्। क्वारेण्टाइनका लागि तयारी पनि गर्नु नै पर्दछ, त्यसका लागि तमु धिं नेपालसँग मात्र आफ्ना क्षेत्रीय समाजहरुमा ५ हजार भन्दा बढी व्यवस्थापन गर्न सक्छौं । तमु धिंले आवाश्यक परे उपलब्ध गराउने निर्णय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङज्युलाई हस्तान्तरण गरिसकिएको छ।
सबैलाई थाहा भएकै कुरा हो कोरोना भाइरसको ओखती बन्याछैन। त्यसैले संक्रमणमा नपर्नका लागि स्वअनुशासन नै बुद्धिमत्ता हो। यदि भाइरससँग भेट भइहाले पनि ज्यानै जाने होइन मनोबल उच्च बनाउन जरुरी छ। सरकार, जनप्रतिनिधिहरु, संघ संस्था, सञ्चार माध्यमहरुले भाइरसलाई परास्त गर्ने शक्ति नागरिकमा आर्जन गर्न गराउन जरुरी छ। त्रास, अफवाह नफैलाऔं, लकडाउनले नागरिकको मनोविज्ञानको हुर्मत त लिएको छैन? एकपटक सोच्न जरुरी छ। लकडाउनको अगाडि जानकारीका साथै कोरोनाका बारेमा सचेतना अभियान कति सञ्चालन गरियो ? सडकमा लठ्ठी लिएर भन्दा पनि टोल टोलमा माइक लिएर सुसूचित गरे गराए कसो हुन्थ्यो ?सबै मिलेर कोरोना भाइरससँग लडौं नारा लगाउने, सबैलाई होम क्वारेण्टाइनमा बस भनेर मात्र होइन आजैबाट पोखरालाई सेनिटाइजरसहितको साबुनपानीले दैनिक पखालौं। हुन्न स्मार्ट मेयर साप ? जस्ले भाइरसहरुको निर्मुलीकरण हुन्छ, पोखरा सफा बन्नुका साथै कोरोनाको दोश्रो संस्करण नै आए पनि पोखरेलीहरुमा झापड लगाउने मनोविज्ञान बन्नेछ।
त्यसैले हामी जस्ता सचेत र अभियानमा जुट्नेहरुलाई घर थुनेर नराख्नुस सेनिटाइज्ड पोखराका लागि अभियानमा सरिक गराउने कि ? मन नलागे हामीलाई नबोलाउनुस तर अभियान चलाउनुपर्दछ, वडा वडा, टोल टोल जाग्नुपर्दछ । सुतेर हुँदैन। हामी सुरक्षित पोखरामा बस्न पाउनुपर्दछ। होइन भने सम्बन्धित निकायले हामीलाई अनुमति दिनुपर्यो, हामी अभियान सञ्चालन गर्छौं। कोरोनारहित सुरक्षित पोखरा निर्माणमा जुट्छौं। कोरोनारहित पोखरा । सुरक्षित पोखरा । जय पोखरा ।
(लेखक, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।)

Advertisment