लोक सेवा आयोगद्वारा १ हजार ९६ शाखा अधिकृतको विज्ञापन

काठमाडौं, २५ मंसिर
लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।
सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातिमा ४८, मधेशीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।
यसैगरी, राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ । व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानून समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ । परराष्ट्र सेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग छ ।
गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष उल्लेख्य संख्यामा विज्ञापन भएको हो । आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेशी पदमा प्रतिस्पर्धा गर्नेहरूका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ । लोक सेवा आयोगको विज्ञापन हेर्न तथा अनलाइन दरखास्त फारम भर्नका लागि www.psc.gov.np मा लग अन गर्न सकिन्छ ।

Advertisment