कास्कीको मोहरामा मगर भाषा संरक्षण यात्रा

पोखरा, २० मंसिर
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले माछापुच्छ«े गाउँपालिका वडा नं. ५, रिभान, मोहरास्थित माछापुच्छ«े आधारभूत विद्यालयमा मगर भाषा संरक्षण एवं संवद्र्धन यात्रा सम्पन्न गरेको छ ।
कास्की जिल्लामै पहिलोपटक कक्षा १ देखि ५ सम्म मगर भाषाको पढाइ सुरु गरेको सो विद्यालयमा मगर भाषा अध्यापन सुरु भएपछिको अवस्था र बालबालिकाहरूको मगर भाषा विषयप्रतिको चासोका बारेमा बुझ्न प्रतिष्ठानको टोली पुगेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले संविधानले दिएको अधिकारलाई जनप्रतिनिधिहरूले कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो । मातृभाषामा पढ्न पाउने बालबालिकाको संविधानप्रदत्त अधिकारलाई जनप्रतिनिधिहरूले कार्यान्वयनस्वरुप विद्यालयमा मातृभाषामा पठनपाठन सुरु गरेकोमा धन्यवाद दिँदै थापामगरले मोहराका बालबालिका र अभिभावकहरू सौभाग्यशाली रहेको दाबी गर्नुभयो ।
आफैंप्रति हीनताबोध गरेर प्रगति गर्न नसकिने भन्दै उहाँले देशभक्ति र राष्ट्रवाद भूगोलका आधारमा मात्रै नहुने उल्लेख गर्नुभयो । आफूलाई तुच्छ ठान्ने प्रवृत्तिले विकास नहुने भन्दै आफ्नो स्वाभिमान, आत्मअभिमानलाई अभिव्यक्त गर्न सके मात्र विकसित समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।


माछापुच्छ«े गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष एवं गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक दुर्गाबहादुर क्षत्रीले गाउँपालिकाको नीति तथा कार्यक्रममा मोहरामा मगर भाषामा पठनपाठन गर्ने कुरालाई समावेश गरेर अघि बढेकोमा आज त्यस कुराले मूर्त रुप लिएको बताउनुभयो । मगर भाषा र लिपिको उत्थानका लागि गाउँपालिकाले सहयोग गरेर यस विद्यालयमा मगर भाषाको पढाइ सुरु गरिएको बताउँदै गाउँपालिका तर्फबाट मगर भाषा पठनपाठनका लागि गाउँपालिकाबाट कुनै पनि किसिमले बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले माछापुच्छ«े आधारभूत विद्यालयमा मगर भाषाको पढाइ सुरु गर्न माछापुच्छ«े गाउँपालिका र जनप्रतिनिधिहरूले खेलेको भूमिकाको सराहना गर्दै मगर संघले मगर भाषा सिक्नका लागि मगर भाषाको एप्स समेत निर्माण गर्न लागेको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले आफूले तनहुँको घिरिङमा अध्यापन गर्दा मगर भाषा सिकेको जनाउँदै आफ्नो मगर भाषाप्रतिको लगावले यस विद्यालयमा मगर भाषा पढाइ सुरु गर्न आफू अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा नं. ५ का वडा सदस्य रासबहादुर रानामगर, नेपाल मगर संघ, गण्डकी प्रदेश समितिका सदस्यद्वय रासबहादुर थापामगर र पूर्ण छन्त्यालमगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर र मगर भाषा प्रतिष्ठान, कास्कीका संस्थापक अध्यक्ष निर्मल थापामगरले मगर भाषा पढाइलाई निरन्तरता दिँदै विद्यालयलाई नमुना विद्यालयका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मगर भाषा प्रतिष्ठान, कास्की शाखाका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक कुमार थापामगरले मगर भाषाको पठनपाठनमार्फत् मगर भाषाको संरक्षणमा खेल्न सकिने भूमिकाका बारेमा स्थलगत रुपमै बुझ्न र अध्ययन गर्न मगर भाषा संरक्षण यात्राको आयोजना गरिएको बताउनुभयो । मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका मगर भाषा शिक्षक एकबहादुर थापामगरले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका लागि मगर भाषा प्रतिष्ठान, कास्कीका तर्फबाट स्टेशनरी तथा मगर भाषासम्बन्धी पुस्तकहरू समेत हस्तान्तरण गरिएको थियो ।


४२ घरधुरी रहेको मोहरा गाउँमा एक घर गुरुङ बाहेक अन्य सबै मगर समुदायको बसोबास छ । सो विद्यालयमा ९९ प्रतिशत मगर समुदायका बालबालिका अध्ययनरत छन् । गत जेठ ३१ गते आयोजित एक औपचारिक कार्यक्रममार्फत् गण्डकी प्रदेशसभाका सदस्य रामजी बराल “जीवन”ले मगर भाषाको कक्षा शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । हाल, मगर भाषा अध्यापनका लागि एक स्थायीसहित दुई जना शिक्षक एकबहादुर थापामगर र लंकबहादुर थापामगर कार्यरत रहनुभएको छ ।

Advertisment