कास्की–२ को उपनिर्वाचन ः २५ को उम्मेदवारी

पोखरा, २१ कात्तिक
कास्की क्षेत्र नं. २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि २५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय, कास्कीले जनाएको छ ।
जसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला रहनुभएको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउँदा समाजवादी पार्टीबाट ई. धर्मराज गुरुङको उम्मेदवारी परेको छ ।
साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेपाली कांग्रेस वीपीबाट चन्द्रबहादुर रानाभाट, देशभक्त समाजवादी पार्टीबाट वीरबहादुर विश्वकर्मा, नेकपा (माले)बाट टेकनाथ भण्डारी र मंगोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय तमुवान मञ्चबाट गजेन्द्र सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोमबहादुर भण्डारी, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्रबाट गंगा मल्ल, विवेकशील नेपाली दल स्वतन्त्रबाट जमुना शर्माको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, स्वतन्त्रतर्फ कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताका क्रममा विभिन्न दलले बाजागाजासहित नेताहरूको अगुवाइमा ¥याली समेत निकालेका थिए ।
यसैबीच, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तयारी पूरा भएसँगै आयोग आजदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची रहेको थियो ।

Advertisment