शहीद थमन परियार स्मृति वडास्तरीय भलिबल प्रतियोगिता हुने, बिजेतालाई १ लाख पुरस्कार

पोखरा, ३० असोज
थमन परियार स्मृति प्रतिष्ठान, नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं. २८ को सहआयोजनामा शहीद थमन परियार स्मृति वडास्तरीय भलिबल प्रतियोगिता–२०७६ यही कात्तिक ६ गतेदेखि हुने भएको छ ।
पोखरा महानगरपालिका अन्तर्गतको वडास्तरीय भलिबल प्रतियोगिता कात्तिक ८ गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारी ‘सागर’ले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष तिवारीले बताउनुभयो ।
पोखरा–२८, माझठानामा जन्मिएका शहीद थमन परियारले २०६३ साल कात्तिक ६ गते शहादत प्राप्त गरेको दिन पारेर १५ औं स्मृति दिवसका अवसरमा प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक मनमोहन अधिकारीले जानकारी दिनुभयो । समाज परिवर्तन र शहीदप्रतिको सम्मान एवं खेलकुदको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक अधिकारीले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट क्वीकर र उत्कृष्ट सर्भरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न मनमोहन अधिकारीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएका छन् । जस अन्तर्गत आर्थिक उपसमिति संयोजकमा बैनबहादुर गुरुङ, प्रचारप्रसार उपसमिति संयोजकमा जीवन तिवारी, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा रामचन्द्र तिवारी र सचिवमा बुद्धिनाथ तिमिल्सिना रहनुभएको छ ।
त्यसैगरी, कार्य सम्पादन समितिमा लालमोहन तिवारी “सागर”, सूर्यप्रकाश तिवारी, वैनबहादुर गुरुङ, दिनेश खड्का र रामकृष्ण तिवारी रहनुभएको छ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ४५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यसम्पादन समिति सदस्य वैनबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टिमको दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ । सोही अवसरमा पोखरा महानगरपालिका र वडा नं. २८ को सहयोगमा ५ लाख रुपैयाँ लागतमा नवनिर्मित शहीद थमन परियार स्मृति खेल मैदानको समेत उद्घाटन गरिने भएको छ ।
२००३ सालमा पोखरा–२८, माझठानामा जन्मिनुभएका शहीद थमन परियार राजनीतिज्ञ, विचारक, लेखक, कलाकार र पत्रकारका रुपमा बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । शहीद थमनले तत्कालिन नेकपा (माओवादी)को क्षेत्रीय ब्यूरो सदस्य, कास्की जिल्ला जनसरकार प्रमुख, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष, राष्ट्रिय स्वाभिमान साप्ताहिकका सह–सम्पादक, नेपाली एकता सन्देशको सह–सम्पादक, सिर्जना सांस्कृतिक परिवारको अध्यक्ष, अखिल भारत एकता समाजको केन्द्रीय कोषाध्यक्षलगायतका विभिन्न जिम्मेवारीमा रही काम गर्नुभएको थियो ।

Advertisment