रिसिङ गाउँपालिकाको केन्द्र ढुंगागाडेमै राख्न नेकपाको माग

रिसिङ, १२ असोज
तनहुँको रिसिङ गाउँपालिकाको केन्द्र ढुंगागाडेमै कायम गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनको घोषणा गरेको छ । गाउँपालिकाका सबै वडाको केन्द्र र जनतालाई सर्वसुलभ सेवा दिन समेत सहज हुने भन्दै वडा नं. ६ स्थित ढुंगागाडे नै गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भएको नेकपाको ठहर छ ।
ढुंगागाडे, चालिसेमै गाउँपालिकाको केन्द्र कायम नगरी अन्यत्र केन्द्र सार्ने षड्यन्त्र गरिएको भन्दै नेकपासहित नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस (वीपी) र नेकपा (क्रान्तिकारी माओवादी)ले विरोध जनाएका छन् । रिसिङ गाउँपालिका नेपाली कांग्रेसले जितेको स्थानीय तह हो ।
गाउँपालिकाको केन्द्र ढुंगागाडेमै राख्न माग गर्दै नेकपासहितका दलहरूले शुक्रबार विरोधसभा सम्पन्न गरेका छन् भने शनिबार गाउँपालिकाका आठ वटै वडा र गाउँपालिकामा तालाबन्दी गरेका छन् । त्यस्तै, शनिबार साँझ मसाल जुलुससँगै आइतबार रिसिङ गाउँपालिका बन्दको समेत आह्वान गरे ।


गाउँपालिकाको केन्द्र सार्ने कदमविरुद्ध नेकपाले भूपालसिंह थापाको संयोजकत्वमा १ हजार १ सदस्यीय रिसिङ गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समिति गठन गरेको छ । जसको सह–संयोजकमा प्रेम रानाभाट रहनुभएको छ । त्यस्तै, डम्बर गुरुङ (विनु)को संयोजकत्वमा १ सय ५१ सदस्यीय युवा दस्ता समेत गठन गरिएको छ । जसको सह–संयोजकमा वसन्त सदाशंकर रहनुभएको छ ।
आन्दोलन परिचालन समितिमा नेकपाका नेता मदन आले, राजेश्वर ढकाल, हरिराज कणेल, गञ्जसिंह गुरुङ, वीरबहादुर थापा, नेपाल लोकतान्त्रिक पार्टीका नेता शिवलाल थापा, नेपाली कांग्रेस (वीपी)का तनहुँ जिल्ला सभापति यमबहादुर आले एवं नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमुक्ति पार्टीका नेता समेत रहेका छन् । केन्द्र सार्ने कदमविरुद्ध नेकपाले हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गरिएको छ ।

Advertisment