पोखरा, ७ चैत्र
तमु जातिको मौलिक पर्व में त्हलें (धनुषवाण) दिवसका अवसरमा तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति, कास्कीको आयोजनामा पाँचौं बृहत अन्तर तमु समाज तथा एकल में त्हले प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा अन्तर तमु समाजतर्फ तमु हे समाज र एकलतर्फ छवि तमु प्रथम भएका छन् । अन्तर तमु समाजतर्फ क्होंला दीप तमु समाज द्वितीय, स्याङ्जाली तमु समाज तृतीय र तमु हे तमु समाज (ख) सान्त्वना भए । त्यस्तै, एकलतर्फ शिव तमु द्वितीय, अमर त्होर्जे तमु तृतीय र गणेश तमु सान्त्वना भए । प्रतियोगिताका बिजेताहरूलाई तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, वरिष्ठ उपाध्यक्ष क्या. इन्द्रबहादुर च्हम्रु तमुलगायतले नगद, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगितामा सहभागी भएका क्षेत्रीय समाजहरूलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा वीरमाया ल्हेंगे तमु अक्षयकोषबाट २४ जना प्लस टु उत्तीर्ण तमु विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो भने क्रिश्चियम स्मृति अक्षयकोषबाट प्लस टु उत्तीर्णमध्ये उत्कृष्ट दुई जना अशोक तमु र सृजना घले तमुलाई नगद तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यसैगरी, कार्यक्रममा तेक्वान्दो खेलमार्फत् राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी तेक्वान्दो खेलाडी रेखमाया तमु र भारोत्तोलन खेलाडी टीकामाया ल्हेंगे तमुलाई विशेष सम्मान गरिएको थियो । उनीहरूलाई पछ्यौरी र सम्मानपत्रले सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले सम्मानले प्रोत्साहन र हौसला मिल्ने भनाइ राख्नुभयो । कार्यक्रममा तमु प्ये ल्हु संघ, महिला समिति, कास्कीकी अध्यक्ष अनिता तमु, केन्द्रीय युवा समितिकी महासचिव पवित्रा तमु, क्षेत्रीय समाजहरूको तर्फबाट पैयुँखोला तमु समाजका अध्यक्ष बलबहादुर कोने तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तमु प्ये ल्हु संघ, कास्कीका अध्यक्ष उमबहादुर प्हच्यु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु भुजा तमु र उपाध्यक्ष निम प्हच्यु तमुले स्वागत गर्नुभएको थियो । सो अवसरमा में त्हलें प्रतियोगिताका प्रशिक्षक अमृत टु तमु र एक मात्र महिला सहभागी रनमाया तमुलाई पनि सम्मान गरिएको थियो ।
में त्हलें प्रतियोगितामा तमु हे तमु समाज ‘क’ र छवि तमु प्रथम
७ चैत्र २०७५, बिहीबार
763
Advertisment