संस्कृतिको संरक्षणमा एपेक्स लाईफ स्कूलको सक्रियता — सांस्कृतिक कार्यक्रम

काठमाडौं, ५ फागुन । यस क्षेत्रकै पुरानो एपेक्स लाईफ स्कूलले समृद्ध संस्कृतिको विकासका लागि जनचेतना अभिवृद्धि एवं अनुभव आदानप्रदान अन्र्तगत शनिवार विद्यालय परिसर सरस्वतिनगर चावहिलमा “वृहत सांस्कृतिक अनुभव आदानप्रदान कार्यक्रम” आयोजना गरेको छ । सो अवसरमा विद्यार्थीहरुले हिमाल, पहाड र तराईका विभिन्न जातजातिका भेषभुषा र मौलिक संस्कृतिमा आधारित नृत्य प्रर्दशन गरेका थिए । त्यस्तै विद्यार्थीहरुले सन्देशमूलक गीत र नाटक पनि प्रस्तुत गरेका थिए । विसं २०४० सालमा स्थापना भएको यो शुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कूल नामाकरण भएको व्यवस्थापक विन्दु न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा एकदेखि दश कक्षासम्म हाल करीव ४५० विद्यार्थी अध्ययनरत छन् । हालसम्म २४ ब्याच विद्यार्थीले एसएलसी दिइसकेको र उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले जनाएको छ । पढाईका अतिरिक्त विद्यालयले बेलाबेलामा शैक्षिक प्रदर्शनी, अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रम गरी विद्यार्थीको प्रतिभा प्रस्फुटनको मौका दिँदै आएको छ ।


सो कार्यक्रमको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालले विद्यालयले दिने शिक्षा हाम्रो जीवनपद्धतिसँग मिल्ने उच्च आदर्शयुक्त, व्यवहारिक र नेपाली संस्कारसँग मिल्ने खालको हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विद्यालयको परिसरमा लेखिएको जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी संस्कृत श्लोक देखाउँदै जर्मनी, नेदरल्याण्ड लगायतका कतिपय देशमा संस्कृतको पढाई हुने गरेको सन्दर्भमा नेपाली भाषाको विकासका लागि संस्कृतको पठनपाठन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले संस्कृत भाषाको पठनपाठनमा जोड दिएर त्यो अनुरुपको संस्कृति, मूल्यमान्यताको व्यवहारिक विकास गर्नमा विद्यालयले रुचि देखाएको आफूले महसुस गरेको बताउनुभयो । सचिव बरालले आधुनिकताको नाममा विद्यालयहरुमा हुने सांस्कृतिक कार्यक्रम उत्ताउलो, भडकिलो र आइटम डान्सभन्दा अनुशासित, मर्यादित, ज्ञानमूलक, प्रेरणा र शिक्षा दिने खालको हुनुपर्ने बताउनुभयो ।


विद्यालयका अध्यक्ष टीकाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा एपेक्स लाईफ स्कूलका कार्यकारी निर्देशक सुवास न्यौपानेले अभिभावको भावना र विद्यार्थीको चाहनाअनुसार सूचना प्रविधि र विश्वव्यापीकरणको आजको युगमा विश्वको जुनसुकै कुनामा गएर पनि प्रतिस्पर्धी हुन सक्ने गरी गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने र विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमका दुई दशकदेखि विद्यार्थीको पठनपाठनमा उत्कृष्ट योगदान गर्नुभएका शिक्षक ऋषि सापकोटालाई रु ५० हजार ५०१ नगदसहित सम्मान गरिएको थियो भने विद्यार्थी सिमरन घिमिरेलाई एकेडेमीक एक्सलेन्स र दिपीका विष्टलाई उत्कृष्ट अतिरिक्त क्रियाकलाप अन्र्तगत एक वर्षको छात्रवृत्ति प्रदान गरिएको व्यवस्थापनक विन्दु न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केशव पुरीले विद्यालयले गुणस्रतीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने र यसलाई नाफामुखी भन्दा सेवामूलक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावक मिलेर नै हाम्रो शिक्षा प्रणालीलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो ।

Advertisment