‘युके स्वीटर’ फागुन ४ गते पोखरामा

पोखरा, २ फागुन

गुरुङ कथानक चलचित्र “युके स्वीटर”को पोखरामा विशेष प्रदर्शन गरिने भएको छ । लेकाली फिल्मस् प्रालिको ब्यानरमा निर्मित सो चलचित्रको यही फागुन ४ गते विन्ध्यवासिनी चलचित्र मन्दिरमा विशेष प्रदर्शन गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा लेकाली फिल्मस्का अध्यक्ष एवं चलचित्रका निर्देशक गुञ्जबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सो चलचित्रको बिहान ९ बजे, मध्याह्न १२ बजे र अपराह्न ३ बजे गरी तीन समय विशेष प्रदर्शन गरिनेछ ।
लाहुरे प्रथा कायम रहेको आदिवासी जनजाति समुदायमा “युके स्वीटर”को महत्वबारे चलचित्रमार्फत् विषय पस्कन खोजिएको निर्देशक गुरुङले बताउनुभयो । निर्देशक गुरुङका अनुसार सो चलचित्रमा नेपाली तथा गुरुङ भाषाको ५०÷५० प्रतिशत प्रयोग गरिएको छ । चलचित्रका निर्माताहरूमा मेजर एलबी गुरुङ, गौबहादुर गुरुङ, धनमाया गुरुङ, भीमकला गुरुङ र रनमाया गुरुङ रहनुभएको छ ।
चलचित्रमा कलाकारहरु रोशन गुरुङ, रिया गुरुङ, विपिना गुरुङ, डीबी गुरुङ, चिजा गुरुङ, टिकाराम घले, सीता गुरुङ, कमलादेवी गुरुङ, मीन गुरुङ, विपुर गुरुङ, रमेश परियार, धनमाया गुरुङ, नन्द थापा र देव रानाले अभिनय गरेका छन् । सो चलचित्रमा राजकुमार बगरको संगीत तथा शब्द, पुष्कर थापाको छायांकन, मनाङ गुरुङ र मौसम पुनको कोरियोग्राफी, छवि रानामगरको सम्पादन, राजेश विष्टको ब्याकराउण्ड स्कोर रहेको छ ।
यसअघि, यस चलचित्रको हङकङमा विशेष प्रदर्शन सम्पन्न भइसकेको छ भने प्रदर्शनबाट प्राप्त दर्शकको मायाले आफू उत्साहित भएको निर्देशक गुरुङले बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव भूपाल गुरुङ र उपाध्यक्ष दिल गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment