मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगर

पोखरा, १२ माघ
मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट अध्यक्षमा पुनः रुद्रबहादुर हितानमगर चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हितानमगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
त्यसैगरी, उपाध्यक्षमा यामबहादुर थापामगर, सचिवमा रुद्रबहादुर श्रीसमगर र कोषाध्यक्षमा मीना थापामगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा कुमार थापामगर, कृष्ण मीगीन मगर र ईश्वरी थापामगर चयन हुनुभएको छ । प्रतिष्ठानकी पूर्व अध्यक्ष फूलकुमारी थापामगरको नेतृत्वमा नुनु रानामगर र टोलमाया थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषालाई बोली, व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । मानव जातिका लागि भाषा अति महत्वपूर्ण कुरा भएको भन्दै थापामगरले नेपालमा भाषिक समानता आवश्यक रहेको बताउनुभयो । मगर भाषालाई सरकारी कामकाज र पठनपाठनमा प्रयोग गर्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्तामा भाषाप्रति चासो जगाउनुपर्ने उल्लेख गर्नुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्कीकी सल्लाहकार एवं नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर भाषाको मौलिकता बचाउनुपर्नेमा जोड दिँदै विकास गर्ने नाममा जथाभावी भने गर्न नहुने बताउनुभयो । नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर भाषा बोल्न नजान्ने मगरहरूका लागि मगर भाषा प्रतिष्ठानले मगर भाषा कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयकी प्रशासकीय अधिकृत टोलमाया थापामगरले मगर भाषाको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment