तमु प्ये ल्हु संघमा फो ल्होसारको शुभकामना आदानप्रदान

पोखरा, १३ पुस
तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा फो ल्होसारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
खि ल्हो (कुकुर वर्ग)को बिदाइ र फो ल्हो (मृग वर्ग)को आगमनको खुशीयालीमा फ–लि–ना क्होइबो धिं परिसरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले एक आपसमा ल्होसारको शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले ल्होसार पर्वले सबैलाई एकताको सूत्रमा बाँध्न प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । आफ्नो मौलिक धर्म, संस्कृतिको संरक्षणका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने कर्तव्यका लागि आफूले पहल गर्ने भन्दै सांसद् गुरुङले हरेक वर्ष आउने ल्होसार पर्वले केही न केही सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, गण्डकी प्रदेशकै अर्का सांसद् इन्द्रधारा विष्टले सबै एकजुट भएर ल्होसार पर्व मनाउनुपर्नेमा जोड दिनुभयो । ल्होसार पर्वले पछिल्लो समय व्यापकता पाउँदै गएको जनाउँदै सांसद् विष्टले ल्होसार र ल्होछार भनेर शाब्दिक रुपमा विवाद गर्न आवश्यक नरहेको बताउनुभयो । सो अवसरमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, कास्कीका अध्यक्ष टेकबहादुर गुरुङले पनि सबै मिलेर ल्होसार पर्व मनाउनुपर्ने बताउनुभयो ।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव बुद्धि गुरुङ र वरिष्ठ उपाध्यक्ष क्या. इन्द्रबहादुर गुरुङले स्वागत गर्नुभएको थियो । संघको आयोजनामा यही पुस १२ गते बिहीबारदेखि बृहत तमु फो ल्होसार महोत्सव सुरु हुँदैछ । महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको महोत्सवका प्रचारप्रसार संयोजक बुद्धि गुरुङले जानकारी दिनुभयो ।

Advertisment