बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट

बुर्तिबाङ, ९ मंसिर
बागलुङको ढोरपाटन नगरपालिका–९ (ढोर) नवी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ४७ परिवार बस्दैआएका ३० घर पुर्णरुपमा जलेका छन् । धेरै घरमा भाइभाइ छुट्टिएर एउटै घरको छुट्टाछुट्टै कोटामा बस्दै आएका थिए ।
आगलागीपछि नियन्त्रणमा लिन पुगेको हनुमान ध्वज गण गुल्म नेपाली सेनाको टोलीले ३० घरसँगै रहेका अन्य २३ घरभने जोगाउन सफल भएका छन् । आगो आइतबार विहान ८ बजे नियन्त्रणमा आएको हनुमान ध्वज गुल्मका इन्द्र शाहीले जानकारी दिनुभयो ।
ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलन पाएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । उक्त स्थानमा फलेकले छाएका र ढुंगाले छाएका घरहरु छन् ।
स्थानीय घरधनी चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थलमा बस्ने गरे पनि चिसो बद्दै जाँदा चिसो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झरेका थिए । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका उनिहरुको घर सहित घरभित्र राखिएको लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट भएको बताइएको छ ।
घटनास्थलदेखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको घटना थाहा पाएलगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमान्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको थियो ।
नवीगाउँमा आगलागी भएको थाहा पाएपछि बेसीगाउँ झरेका नवीगाउँबासीहरु ढोरपाटन फर्किरहेका छन् ।

तस्वीर सौजन्य ः कल्याण कायत (ढोरपाटन)

Advertisment