बागलुङ–पोखरा मगर समाजको देउसी भैलोबाट १ लाख ६८ हजार संकलित

पोखरा, १ मंसिर
बागलुङ–पोखरा मगर समाजको देउसी भैलो कार्यक्रमबाट १ लाख ६८ हजार रुपैयाँ संकलन भएको छ । शनिबार सम्पन्न देउसी भैलो कार्यक्रमबाट सो रकम संकलन भएको समाजका अध्यक्ष रामबहादुर पुनमगरले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले समाजलाई अघि बढाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । समाजका पूर्व अध्यक्ष भीमबहादुर श्रीसमगरले जातीय पहिचान र अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने बताउँदै भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।


त्यस्तै, सल्लाहकार ढकबहादुर पुनमगरले नेतृत्व विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समाजका सम्पूर्ण सदस्यहरू सक्षम हुनुपर्ने र त्यसका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले सामाजिक सद्भाव कायम गर्न यस्ता समाजहरूले निकै महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आफ्नो मौलिक संस्कृति बचाउन यस्ता समाजले अगुवाइ गर्नुपर्ने धारणा राख्नुभयो ।
नीलिमा थापामगर नेपाल आइडल बनाऊँ अभियान सहयोग समितिका सचिव सुरज थापामगरले नेपालकै पहिलो महिला नेपाल आइडलका रुपमा नीलिमा थापामगरलाई नेपाल आइडल बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबैको साथ र सहयोगले नीलिमालाई नेपाल आइडल बनाउन सकिने बताउनुभयो । कार्यक्रममा समाजका सदस्यहरू धनमाया थापामगर, सुनिता रानामगरले पनि बोल्नुभएको थियो ।
समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा समाजका तर्फबाट एपीवान टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शो नेपाल आइडलकी प्रतिष्पर्धी नीलिमा थापामगरलाई नेपाल आइडल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Advertisment