पोखरामा मगर चलचित्र “मीझार”को तेस्रो पटक प्रदर्शन

पोखरा, २१ असोज
मगर चलचित्रकर्मी संघ, नेपाल, कास्कीको आयोजनामा मगर कथानक चलचित्र “मीझार” पोखरामा तेस्रो पटक विशेष प्रदर्शन गरिएको छ ।


मगर चलचित्रकर्मी संघ, कास्कीको कोष स्थापना सहयोगार्थ आयोजना गरिएको सो चलचित्रको विशेष प्रदर्शनमा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । विशेष प्रदर्शनको उद्घाटन गर्दै नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर चलचित्रको बजार प्रवद्र्धनका लागि संघ सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मगर चलचित्रकर्मी संघ, नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले मगर चलचित्रले अझै पनि उचित बजार पाउन नसकेको बताउँदै गुणस्तरीय चलचित्र निर्माण गरी समुदायको भाषा, संस्कृति प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो । सो अवसरमा “मीझार” चलचित्रका निर्देशक सन्तोष पिठाकोटेमगरले चलचित्र प्रदर्शनबाट संकलित रकम ९५ हजार रुपैयाँ मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरलाई हस्तान्तरण गर्नुभएको थियो ।


म्याक्सन फोर डि स्टुडियोको पहिलो प्रस्तुती मगर र नेपाली भाषामा छायाङ्कन गरिएको मगर कथानक चलचित्र “मीझार” यसअघि, बेलायतलगायत नेपालका ७० भन्दा बढी ठाउँमा प्रदर्शन भइसकेको छ भने नेपाल मगर विद्यार्थी संघ सुर्खेतको आयोजनामा यही असोज २७ गते शनिबार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा दुई शो प्रदर्शन गर्न लागिएको निर्देशक पिठाकोटेमगरले जानकारी दिनुभयो ।


सन्तोष पिठाकोटेमगरको लेखन, छायाङ्कन, सम्पादन तथा निर्देशन रहेको सो चलचित्रको छवि रानामगरको भिजुअल इफेक्ट र रङ संयोजन, लब्सन गुरुङको कोरियोग्राफी, सुरेश रानाको कथा देवेन्द्र थापा मगरको निर्माण नियन्त्रण रहेको छ । साथै, चलचित्रको प्रस्तुती मीवाट पिठाकोटे मगर र निर्माता किरण पुन मगर सरस्वती पिठाकोटेमगर, सुशान्त पिठाकोटे मगर रहेका छन् ।
चलचित्रमा रमेशबाबु थापामगर, मोनिका थापामगर, दिलु राम्जाली तिलिजामगर, अनिता रानामगर, किरण पुनमगर, देवेन्द्र थापामगर, तारा लुंगेलीमगर, डम्बर दर्लामीमगर, इन्द्र फालमगर, कमला मिधुनमगर, कोटबहादुर बाछेमगर, प्रेमकुमारी आलेमगर, विमला आलेमगर, जुनमाया पुर्जामगर, सोम बुढाथोकीमगरलगायतको अभिनय रहेको छ ।

Advertisment