कास्कीमा मगर महिला संघको २१ औं स्थापना दिवस मनाइयो

पोखरा, १८ असोज
नेपाल मगर महिला संघको २१ औं स्थापना दिवस विशेष कार्यक्रम गरी कास्कीमा मनाइएको छ ।
असोज ३ गते संघको स्थापना भएपनि नेपाल मगर महिला संघ कास्कीले भने बिहीबार मात्रै स्थापना दिवस मनाएको हो । प्रदेशस्तरीय कार्यक्रम परेकाले ढिलो गरी कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला अध्यक्ष नुनु रानामगरले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले पछिल्लो समयमा देशमा महिला हिंसाका घटना बढेको भन्दै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिलाहरूले कतै पनि सुरक्षित महसुस गर्न सक्ने अवस्था नरहेको भन्दै थापामगरले व्यापक सामाजिक जागरण र कठोर कानूनी व्यवस्था भए मात्र महिला हिंसा रोक्न सकिने धारणा राख्नुभयो ।


नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले भाषा, संस्कृति लोपोन्मुख अवस्थामा पुग्न लागेकोमा चिन्ता व्यक्त गर्दै भाषा, संस्कृति जोगाउन अब एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भाषा, संस्कृति नरहे पहिचान नै समाप्त हुने भन्दै अध्यक्ष रानामगरले पहिचान नभए कुनै पनि जातिको अस्तित्व नै नरहने बताउनुभयो ।


सो अवसरमा नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी अध्यक्ष रुपा आलेमगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका सदस्य खेम सारुमगर, नेपाल मगर महिला संघ कास्कीकी संस्थापक अध्यक्ष खुमकुमारी थापामगर, तनहुँको भिमाद नगर समितिकी अध्यक्ष पवित्रा थापामगर, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, कास्कीका अध्यक्ष चन्द्रप्रकाश थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर महिला संघ कास्कीकी पूर्व अध्यक्ष मनकुमारी पुनमगर, नेपाल मगर संघ, कास्कीका पूर्व उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरलगायतले बोल्नुभएको थियो ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र वरिष्ठ उपाध्यक्ष कोपिला थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायिकाद्वय सरिता सारूमगर र वसन्ती थापामगरले सांगीतिक प्रस्तुती राखेका थिए ।

Advertisment