अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमलाई जापानी लायन्स क्लबको सहयोग

पोखरा, ६ असोज
पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा रहेका अनाथ बालबालिकाका लागि एक जापानी लायन्स क्लबले २ लाख ७६ हजार सहयोग गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा बाल आश्रममा रहेका असहाय बालबालिकाका लागि अत्यावश्यकीय सामग्रीका लागि सो सहयोग रकम हस्तान्तरण गरिएको थियो । औमोरी जिरो लायन्स क्लब, जापान, औमोरीकेन, औमोरिशी, कुशुशी ३–१६–१७ ले बाल आश्रमकी अध्यक्ष शारदा बस्नेतलाई सो सहयोग रकमसँगै दैनिक उपभोग्य सामान समेत हस्तान्तरण गरेको थियो ।
लायन्स क्लब अफ पोखरा सेती गण्डकी र लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा औमोरी जिरो लायन्सका तर्फबाट किमुरा लायन, साइतो लायन र विवियन लायनले सो सहयोग हस्तान्तरण गर्नुभएको थियो । जापानका नेपाली व्यवसायी एवं समाजसेवी प्रेम थापाको समन्वयमा सो सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा थापाले आफ्नो व्यक्तिगत तर्फबाट बाल आश्रमलाई २० हजार नगद सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एफडब्लूसी कोअर्डिनेटर लायन ध्रुवबहादुर थापाले असहाय बालबालिकाका लागि जापानी लायन्स क्लबले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । गण्डकी प्रदेशकी सांसद् प्रभा कोइरालाले असहाय बालबालिकाको भविष्य निर्माणका लागि जापानी लायन्स क्लबले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारका तर्फबाट असहाय बालबालिकाका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा रिजन चेयर पर्सन लायन नवीन भण्डारी र समाजसेवी रुपबहादुर थापाले जन्मेपछि समाजका लागि केही गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै असहायका लागि सहारा बन्नु सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । बाल आश्रमका तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष शारदा बस्नेतले जापानी लायन्स क्लबले सहयोग गरेर आश्रममा रहेका असहाय बालबालिकाका लागि निकै ठूलो गुन लगाएको बताउनुभयो ।
लायन्स क्लब अफ पोखरा सेतीगण्डकीकी अध्यक्ष लायन दुर्गा शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन अम्बिका पराजुली र कार्यक्रम संयोजक लायन मिलन थापाले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन निरन केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Advertisment