गलकोट समाज पोखराको पाँचौं वार्षिक साधारणसभा असोज ३ गते

पोखरा, २५ भदौ
बागलुङ जिल्लाको गलकोट क्षेत्र (गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडीगाड गाउँपालिका र बरेङ गाउँपालिका)बाट पोखरामा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था गलकोट समाज पोखराको पाँचौं वार्षिक साधारणसभा आगामी असोज ३ गते हुने भएको छ ।
सो साधारणसभाका अवसरमा समाजद्वारा प्रकाशित स्मारिकाको दोस्रो अंक समेत विमोचन गरिने भएको छ । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने समाजका अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो ।
समाजको बैठकले साधारणसभा सम्पन्न गर्नका लागि तीन सदस्यीय निर्वाचन समिति समेत बनाएको छ । जसमा समाजका विशेष सल्लाहकार एवं गलकोट बहुमुखी क्याम्पस, गलकोटका पूर्व प्रमुख मोहन चन्द “राजन”को नेतृत्वमा सल्लाहकारद्वय रुपबहादुर थापा र रामप्रसाद पाण्डे सदस्य रहेको निर्वाचन समिति निर्माण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
साधारणसभालाई गलकोट क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशका सांसद्द्वय चन्द्रबहादुर बुढा “सागर” र दिलमाया रोका “दीपा”ले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । यसैबीच, समाजको बैठकले गत शनिबार सम्पन्न दर खाने कार्यक्रममा प्रायोजन गर्ने समाजका अध्यक्ष मीनबहादुर खत्री र उहाँकी श्रीमती पूर्णकली खत्री एवं खत्री परिवारलाई धन्यवाद समेत दिएको छ ।

Advertisment