नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ कास्की अध्यक्षमा केसी

पोखरा, १७ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, कास्कीको प्रथम जिल्ला भेला तथा साधारणसभाबाट अध्यक्षमा अर्जुनबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ ।
आइतबार सम्पन्न भेलाबाट उपाध्यक्षमा बेनबहादुर गुरुङ, सचिवमा अविलास गुरुङ र कोषाध्यक्षमा गौरी गुरुङ सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा भरत देवकोटा, सन्तोष गुरुङ, विष्णु चापागाईं, सरस्वती विक ‘सरु’, राजु गुरुङ, मनलाल गुरुङ र भाइराज राना रहनुभएको छ ।
यसअघि, भेलाको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले नयाँ खेल आफ्नो जिल्लामा भित्रिनु खुशीको कुरा भएको बताउनुभयो । अन्य खेलकुद संघजस्तै झोले संघ नबन्न सुझाव दिँदै अध्यक्ष गुरुङले संघको गठनले खेलकुद क्षेत्रको विकासका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज दिलु गुरुङले नयाँ खेलको विकासका लागि एकजुट भएर अघि बढ्न नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो । युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण लामाले युवाहरू एकजुट भएर नयाँ खेलको विकासमा लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले संघको स्थापना, यसले गरेका गतिविधि र भावी कार्ययोजनाका विषयमा जानकारी गराउनुभएको थियो । संघका प्रदेश सदस्य एवं कास्की जिल्ला इञ्चार्ज मिकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं गायक सन्तोष बस्याल र संघका प्रदेश महासचिव रूद्रबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।

Advertisment