मगर महिला संघ कास्कीको एक हप्ते चुरा, पोते बनाउने तालिम सम्पन्न

पोखरा, ३२ असार
नेपाल मगर महिला संघ कास्कीको आयोजनामा सञ्चालित एक हप्ते चुरा, पोते बनाउने तालिमको सोमबार समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । सीपमूलक तालिम आयोजना गरेकोमा मगर महिला संघ कास्कीलाई धन्यवाद दिँदै उहाँले आफूले सिकेको सीप प्रयोग गरेर उत्पादित सामानको बजारीकरणका लागि कुनै चिन्ता नमान्न आग्रह पनि गर्नुभयो । ‘मगर महिलाहरूलाई व्यवसायिक बनाउनुपर्छ भनेर मेरो नेतृत्व हुँदा पनि तालिमलाई जोड दिएका थियौं’, थापामगरले भन्नुभयो, ‘हामीले उत्पादन गरेका चिज बजारीकरण गर्न कुनै पनि समस्या हुँदैन, यसका लागि आवश्यक पर्छ भने म आफैं पनि सहयोग गर्न तयार छु ।’
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर महिलाहरूले आयमूलक तालिमलाई जोड दिएकोमा खुशी प्रकट गर्दै तालिममा सिकेका कुरालाई दैनिक व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । ‘तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुस्’, उहाँले भन्नुभयो, ‘तालिममा सिकेको सीप प्रयोग गरेर मगर महिलाहरू पनि अरुसरह अब व्यवसायिक बन्नु आवश्यक छ ।’ मगर महिलालगायत आदिवासी जनजाति महिलाहरूले लगाउने पोशाक, गरगहना बनाउन आवश्यक भएकोमा जोड दिँदै रानामगरले व्यवसायिक तालिम गर्दा सांस्कृतिक हिसाबले पनि सोंच्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


सो अवसरमा तालिमकी प्रशिक्षक लक्ष्मी थापामगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, प्रशिक्षार्थीहरूका तर्फबाट पुष्पा पुनमगर र शान्ति थापामगरले पनि बोल्नुभएको थियो । नेपाल मगर संघ कास्कीको सभाहलमा एक हप्तासम्म सञ्चालित तालिममा आइतीश्री थापामगर र लक्ष्मी थापामगरले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment