पाँचौं अरुण स्मृति साँझमा झुम्यो हङकङ

हङकङ, २१ असार
मगर संघ हङकङको आयोजनामा भएको पाँचौं अरुण स्मृति साँझ–२०१८ मा नेपालबाट आएका उदीयमान कलाकारहरूले हङकङमा रहेका नेपालीहरूलाई आफ्ना आकर्षक प्रस्तुतीमार्फत् मनोरञ्जन दिएका छन् ।
जुन १६ मा युनलोङ थिएटर हलमा आयोजित कार्यक्रममा हङकङमा बस्ने नेपालीहरूले सांगीतिक मनोरञ्जन लिए । नेपालबाट आएका कलाकारहरूले आफ्नो गीत र नृत्यमार्फत् नेपालीहरूलाई आफ्नै जन्मभूमि नेपाल सम्झाइदिए ।
मगर संघ हङकङले विगत पाँच वर्षदेखि विश्व चर्चित गायक अरुण थापामगरको सम्झनामा हरेक वर्ष अरुण स्मृति साँझ आयोजना गर्दै आएको छ । जुन कार्यक्रममा नेपालबाट उदीयमान र अवसर पाउन नसकेका प्रतिभावान कलाकारहरू छनौट गरेर ल्याउने गरिएको छ । उदीयमान कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिइएको संघकी अध्यक्ष युगमाया रानामगरले जानकारी दिनुभयो ।
अरुण स्मृति साँझमा लोक तथा दोहोरी गायक नवीन रानामगर, अर्का लोक तथा दोहोरी गायक गंगा पुनमगर, नृत्य कलाकार शेखर घर्तीमगर, उमेश राई, गायिका तारा श्रीसमगर र कलाकार रविता मगरको आकर्षक प्रस्तुतीमा हङकङका नेपाली झुमेका थिए ।


कलाकारको प्रस्तुतीबाट कार्यक्रममा उपस्थित दर्शक पनि निकै खुशी भए । कार्यक्रममा मगर संस्कृति झल्किने कौरालगायतका विभिन्न नृत्य पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा उपस्थित दर्शकले उदीयमान कलाकारहरूको भविष्य निकै राम्रो रहेको प्रतिक्रिया पनि दिए ।
‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’जस्ता कालजयी गीतका गायक अरुण थापामगरको स्मृति दिवस हरेक वर्ष साउन ५ गते मनाउने गरिन्छ । यस वर्ष गायक अरुणको २० औं स्मृति दिवस मनाउन लागिएको छ ।
यसैबीच, मगर संघ हङकङले नेपालबाट आएका कलाकारहरूलाई भव्य बिदाइ समेत गरेको छ ।

Advertisment