प्रहरी निरीक्षक विशाल तामाङलाई नमो बुद्ध युवा क्लबको बधाई

पोखरा, २० असार
नवनियुक्त प्रहरी निरीक्षक विशाल तामाङलाई कास्कीको मादी गाउँपालिका–११, सैमराङस्थित नमो बुद्ध युवा क्लबले बधाई ज्ञापन गरेको छ । सैमराङमै जन्मेका प्रहरी निरीक्षक तामाङलाई बुधबार क्लबले बधाईसँगै सम्मान गरेको हो ।
प्रहरी निरीक्षक तामाङ २०७१ सालमा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरीको सेवामा प्रवेश गर्नुभएको हो । हालै मात्र खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बन्नुभएका तामाङ जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत हुनुहुन्छ ।
बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य श्रीनाथ बरालले तामाङ प्रहरी अधिकृतका रुपमा सेवा प्रवेश गर्नु समग्र कास्कीबासीको निम्ति खुशीको कुरा भएको बताउनुभयो । उत्साह, धैर्यता र परिश्रमले मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै नेता बरालले प्रहरी निरीक्षक तामाङ सबैका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो ।
प्रहरी निरीक्षक तामाङका बुबा एवं नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले राजनीति चोखो भएमात्र राज्य संयन्त्र चोखो हुने भन्दै तब मात्र प्रतिभाहरूले फुल्ने अवसर प्राप्त गर्ने बताउनुभयो । बधाई ग्रहणपछि बोल्दै प्रहरी निरीक्षक तामाङले आफूले घरपरिवार र गाउँ समाजबाट नैतिक शिक्षा र संस्कार प्राप्त गरेको बताउनुभयो । राम्रो संस्कार पाएकाले आफूले मेहनत गरे अनुसार सफल हुन सकेको भन्दै प्रहरी निरीक्षक तामाङले नेपालकै सेवामा लाग्न अरुलाई पनि आग्रह गर्नुभयो ।
नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ का अध्यक्ष दीपक तामाङले प्रहरी निरीक्षक तामाङ सम्पूर्ण तामाङ समुदायकै लागि प्रेरणाको स्रोत भएको भन्दै अब तामाङ समुदायमा नयाँ सपना जन्मिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीस, गीतकार तीर्थ तामाङ, नेपाल तामाङ घेदुङ, कास्कीका अध्यक्ष कृष्णबहादुर तामाङ, धर्मगुरु एवं मादी गाउँ कार्यपालिका सदस्य रनबहादुर लामा, तामाङ याङ्ला संस्कृति, सैमराङका अध्यक्ष सियामान तामाङ, समाजसेवीद्वय कृष्णबहादुर स्याङ्बो तामाङ र रामप्रसाद तामाङ, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर तामाङलगायतले बधाई ज्ञापनसँगै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नमो बुद्ध युवा क्लब, सैमराङका अध्यक्ष साजन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा नेता पूर्ण लामा र प्रेम तामाङले स्वागत गर्नुभएको थियो ।

Advertisment