कर्म–कर्ण पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति गठन

पोखरा, १४ असार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित एवं तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्वारा आफ्नो वैवाहिक वर्षगाँठका अवसरमा स्थापित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७५’का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
फोनिज कास्की शाखाको बुधबारको बैठकले अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको हो । समितिका सदस्यहरूमा फोनिजका प्रदेश नं. ४ का इञ्चार्ज हुमबहादुर गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ की उपाध्यक्ष शान्ति गुरुङ र फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगर रहनुभएको छ ।
सो पत्रकारिता पुरस्कार हरेक वर्ष पुरस्कारकी संस्थापिका एवं तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठ असार २९ गते वितरण गरिँदै आएको छ ।
यसैबीच, सोही बैठकले ‘फोनिज कास्की पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ । पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ मिलन फाउण्डेशन नेपालका संरक्षक, समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले ५० हजार रुपैयाँ फोनिज कास्की शाखालाई हस्तान्तरण गरी पुरस्कार अक्षयकोषमा सहयोगको सुरुवात गर्नुभएकोमा बैठकले आभार प्रकट समेत गरेको छ ।
त्यसैगरी, बैठकले नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट विभिन्न पदमा निर्वाचित हुने उपाध्यक्ष शान्ति गुरुङ, सचिव रूद्रबहादुर श्रीसमगर, कार्यसमिति सदस्य खेम सारूमगर, फोनिजको छैठौं महाधिवेशनबाट प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा क्रमशः हुमबहादुर गुरुङ र मनोज घर्तीमगरलाई बधाई ज्ञापन समेत गरेको छ ।
त्यस्तै, बैठकले प्रदेश नं. ४ को नामाकरणका सन्दर्भमा ‘तमुवान–मगरात’ हुनुपर्ने भन्दै आदिवासी जनजातिहरूले तमुवान–मगरात संघर्ष समितिमार्फत् सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ । साथै, बैठकले फोनिजका केन्द्रीय सदस्य मनोज घर्तीमगरका बुबा चन्द्रबहादुर घर्तीमगरको निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

Advertisment