धादिङ त्रिपूरा वाराही महिला समूहको उद्घोषण तालिम शुरु

पोखरा, १३ बैशाख , धादिङ त्रिपूराबाट पोखराको लेकसाईडमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका महिलाहरुको संस्था धादिङ त्रिपुरा वाराही महिला समूहले आयोजना गरेको तीन दिने ‘उद्घोषण तथा क्षमता विकास तालिम’ शुरु भएको छ । तालिमको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले विहीबार उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष पहारीले महिलाले आफैले आफैलाई नचिन्दा पछि परेको भन्दै तालिमले आफू चिन्ह सघाउने विश्वास व्यक्त गरे । वडा सदस्य तथा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले तालिमले व्यक्तिलाई व्यक्तित्व बनाउने भन्दै त्यसको सदुपयोग गर्न सुझाव दिए ।धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले महिलाको वृत्ति विकासका लागि आफूले सँधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तीन दिनसम्म चल्ने तालिमको पहिलो दिन रेडियो अन्नपूर्णका बरिष्ठ प्रस्तोता सन्देश श्रेष्ठले सहजीकरण गरे भने बाँकी दिन रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेले सहजीकरण गर्नेछन् । धादिङ त्रिपुरा वाराही महिला समूहकी अध्यक्ष हिराकुमारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बबिता मल्लले गरेकी थिईन् ।

Advertisment