स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते !

म्याड्रिड, स्पेन । स्पेनको मध्य भागमा दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएको विवरण सार्वजनिक भएको छ भने मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
बुधबार बिहान स्थानीय समयअनुसार करिब ८:५४ बजे टोलेदो प्रान्तको उर्दा र लोस येबेनेस क्षेत्रनजिक म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा दुर्घटना भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा सरकारी रेल कम्पनी रेन्फे (Renfe) र निजी कम्पनी इरियो (Iryo) का रेल संलग्न थिए।


प्रारम्भिक विवरणअनुसार एउटै दिशातर्फ गइरहेका दुई रेलमध्ये रोकिएको इरियो रेलको पछाडिको भागमा रेन्फेको रेल ठोक्किएको थियो। ठक्करका कारण रेलका केही डिब्बा लिकबाट खसेर छेउको भिरालो भागमा पुगेका थिए।
दुर्घटनापछि घटनास्थलमा उद्धारकर्मी, अग्निनियन्त्रक, प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। गम्भीर घाइतेलाई अस्पताल पुर्‍याइएको छ। दुवै रेलमा गरी करिब ५४४ यात्रु सवार रहेको विवरण सार्वजनिक भएको छ।
दुर्घटनापछि म्याड्रिड, सिउदाद रियल र दक्षिणी अन्दालुसिया क्षेत्रबीचको उच्च गतिको रेल सेवा स्थगित गरिएको रेल पूर्वाधार सञ्चालक एडीआईएफ (ADIF) ले जनाएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

यस वर्ष स्पेनमा भएको यो अर्को ठूलो रेल दुर्घटना हो। यसअघि जनवरीमा अन्दालुसियाको आदामुज क्षेत्रमा दुई रेल दुर्घटनाग्रस्त हुँदा ४६ जनाको मृत्यु भएको थियो। सन् २०१३ मा गालिसिया क्षेत्रमा भएको रेल दुर्घटनामा ८० जनाको ज्यान गएको थियो।

Advertisment