फिप्नाको १०औं महाधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित !

न्युयोर्क, अमेरिका — नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १०औं महाधिवेशन आइतबार न्युयोर्कमा सम्पन्न भएको छ। महाधिवेशनले शेर्पा संघका अध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

निर्वाचन प्रक्रियाबाट १५ सदस्यीय कार्यसमितिमध्ये हाल ८ सदस्य निर्विरोध निर्वाचित भएका छन् भने बाँकी ६ पद रिक्त राखिएको छ। रिक्त पदहरूमा महिला उपाध्यक्ष (१), क्षेत्रीय उपाध्यक्ष (१), कोषाध्यक्ष (१), सचिव (१) तथा सदस्य (२) पदहरू पछि मनोनयनमार्फत पूर्ति गरिने जनाइएको छ।


महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा किराँत राई सोसाइटी अफ अमेरिकाका शम्भु राई, क्षेत्रीय उपाध्यक्षमा तामाङ सोसाइटी अफ अमेरिकाका राजु तामाङ तथा महासचिवमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका डम्बर बहादुर (सुमन थाम्सुहाङ) लिम्बु सर्वसम्मत चयन भएका छन्।


त्यसैगरी सह-कोषाध्यक्षमा ढोक्प्या किदुग यूएसएका कर्मा शेर्पा चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा घ्याल्सुम्दो सेवा संस्थाका ओम (विजय) गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका हरि जगेबु, नेवा गुठी न्युयोर्कका भुपेन्द्र बज्राचार्य तथा द गुरुङ (तमु) सोसाइटी इंक यूएसएका करुणा गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन्।


महाधिवेशनको उद्घाटन फिप्नाका सभामुख भारती राई र अध्यक्ष तोरण गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा फिप्नाको दुई वर्षे आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण महर्जन र सह-कोषाध्यक्ष दावा शेर्पाले प्रस्तुत गरेका थिए। सोही अवसरमा निस्वार्थ रूपले अहोरात्र खटिएर फिप्नाको लागि योगदान दिए बापत प्रेसिडेन्ट अवार्ड बाट महासचिव दिपक चौधरी र समाजसेवी केशबराम राईलाई निवर्तमान अध्यक्ष तोरण गुरूङले खादा लगाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।
महाधिवेशन तथा बन्द सत्र कार्यक्रम महासचिव दिपक चौधरीले सञ्चालन गरेका थिए। निर्वाचन समितिमा प्रमुख आयुक्त नविन शेरचन रहेका थिए भने निर्वाचन आयुक्तहरूमा मच्छेदेवी गुरुङ र सौमेन्द्र रञ्जित रहेका थिए।
फिप्नाको नयाँ नेतृत्वले आगामी कार्यकालमा संगठन सुदृढीकरण, समुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ।

Advertisment