न्युयोर्कमा मगरहरूले भब्य रूपमा मनाए माघे संक्रान्ति, सामुदायिक सहयोग स्वरूप ६० हजार अमेरिकी डलर मगर संघले पायो !

न्यूयोर्क । मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति २०२६ सांस्कृतिक कार्यक्रम भब्य रूपमा न्युयोर्कमा सम्पन्न भएको छ ।

“जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई, जोगाइ राखौं युगौं युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई”, भन्ने मुल मन्त्र मोटोलाई आत्मसात लिएर मगर संघ अमेरिका न्युयोर्क च्याप्टरले जनवरी १६ शुक्रबारको दिन न्युयोर्कको उडसाईडमा सांस्कृतिक कार्यक्रम मनाएको हो ।

प्रमुख अतिथि मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगर, विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङ र मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रत्नसिङ गर्बुजा मगर सहित सबै अतिथि जनहरूले संयुक्तरूपमा पानसमा दिप प्रज्वलन गरि नेपालको प्रथम सहिद लखन थापा मगर र मगर संघको संस्थापक अध्यक्ष स्व. हेम बहादुर पुन मगरको तस्बिरमा खादा लगाई कार्यक्रमको उद्घघाटन गरिएको थियोे ।

प्रमुख अतिथि बुढा मगरले माघे संक्रान्ति पर्व परापूर्व कालदेखि मनाउँदै आईरहेकोले यसको संरक्षण र संस्कारलाई जोगाउन अबको नयाँ पुस्तालाई सगसगै सबैले अगाडि बढाएर लानु हामी सबैको दायित्व रहेको कुरा बताउनुभयो ।

“ईतिहासको कालखण्ड देखी अहिलेसम्म चलि आएको यश माघेसंक्रान्ति पर्वलाई हामीले गहिरो रूपले खोजको विषय रहेकोले यो पर्वको संरक्षण र पुस्तान्तरण गर्नुपर्ने अतिनै आवश्यकता रहेको विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङले बताउनुभयो ।

“बर्षौसम्म यश संस्थामा संस्थाको हितको लागि प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने मनका धनी सम्पूर्ण मगर समुदाय तथा गैर मगर दाजुभाई तथा दिदीबहिनी, आामाबुवाहरूको कारणलेनै संस्था बलियो रहेको कुरा बताउदै मगर संघ न्युयोर्क च्याप्टरका अध्यक्ष रत्नसिङ गर्वुजा मगरले सबै प्रति धेरै धेरै धन्यवाद आभार ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि क्विन्स काउन्टी सिभिल कोर्टका माननीय सेरिडान सी. चु, क्विन्स सिभिल कोर्टका जज माननीय ईभे चो, मेम्बर अफ न्युयोर्क सिटी काउन्सिल (डिस्ट्रिक्ट-२५) का माननीय शेखर कृष्ण, न्युयोर्क स्टेटका सिनेटर माननीय जोन सी.लि, कङ्ग्रेस वुमन रिप्रिजेन्टिटिभ फर न्युयोर्क कि माननीय ग्रेस मेन्ग, नेपाल सरकार महावाणिज्यदुतावास न्यूयोर्कका महावाणिज्यदुत – महामहिम दधिराम भण्डारी लगाएतले सो पर्वको अवसरमा शुभकामना मन्तब्य दिनुभएको थियोे ।

सोही अबसरमा मेम्बर अफ न्युयोर्क सिटी काउन्सिल (डिस्ट्रिक – २६) कि माननीय जुलि वनले मगर संघ अमेरिका न्युयोर्क च्याप्टरलाई AAPI सामुदायिक सहयोग पहल (NYC) अन्तर्गत $६०,००० अमेरिकी डलर चेक हस्तान्तरण गर्नुभयो । यश रकम गैर नाफा मुलक संस्थाको र समुदायको सांस्कृतिक हितको लागि प्रदान गरिएको हो । साथै बालबालिकाको विकासका लागि पनि विभिन्न किसिमका खेलौनाहरू पनि वनले वितरण गर्नुभएको थियोे ।

समाजको हरेक सामाजिक कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भई निस्वार्थ रूपले सहयोग गरे बापत १४ जना ब्यक्तिहरूलाई उनिहरूको योगदानको कदर स्वरूप सम्मान गरिएको थियोे, जसमा नौ जना ब्यक्तिहरू मगर संघ न्युयोर्क च्याप्टर उपाध्यक्ष टेक मिलन पुन, प्रेमा घर्ती मगर, राजु घर्ती मगर, सुधार बुढा मगर, दिपु श्रीष मगर, चक बहादुर पाईजा मगर, जगदिस समाल र संगीता थापा मगरलाई मेम्बर अफ न्युयोर्क सिटी काउन्सिल (डिस्ट्रिक – २६) कि माननीय जुलि वनले प्रमाणपत्र र खादा लगाई सम्मान गर्नुभएको थियो भने पाँच जना ब्यक्तिहरू कुल बहादुर राना मगर, याम पुन मगर, अमृत रोका मगर, सुमन पुन मगर र मगर संघ आजिवन सदस्य बिष्णु राना मगरलाई एसेम्बली मेम्बर न्युयोर्क स्टेट (डिस्ट्रिक-३०) का माननीय स्टेफन रागाले प्रमाणपत्र र खादा लगाई सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी बालबालिकाहरू र सिनियर कलाकारहरूले कौडा, थाली नाच, मरूनी, झ्याउरे जस्ता आदि गीतहरूमा नृत्य गरेका थिए भने नेपालको रूकुम जिल्लामा बसोबास गर्ने खाम भाषा बोल्ने मगरहरूको संस्कार बारे छोटो नाटक मञ्चन पनि गरिएको थियो ।


उक्त कार्यक्रममा गायन तर्फ नेपालका चर्चित गजल गायक जगजित समालले आफ्नो हिट गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाउनुभयो भने लाईभ दोहोरी तर्फ गायक दिलिप श्रीष र संगिता थापाले दोहोरी गीत गाएर सबैलाई मनोरञ्जन गराऊनु भयो ।

माघे संक्रान्ति २०२६ सांस्कृतिक कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष टेकमिलन पुन मगरले गर्नुभएको थियोे भने सांस्कृतिक सह-संयोजकको भुमिकामा स्मृति बुढा मगर रहनुभएको थियो । साथै डान्स कोरियोग्राफर रेन्जु छन्त्याल र कृष्णा धर्ति मगरले गर्नुभएको थियोे ।
सोही अवसरमा मगर सांस्कृतिक केन्द्रको लागि भवन खरिद गर्नको लागि सम्पूर्ण ब्यक्तिहरूलाई सहयोगको अपिल गर्दै शुभकामना मन्तब्य ( संयोजक मगर सांस्कृतिक केन्द्र स्थापनार्थ समिति ) सदस्य भविन्द्र सेरपुन्जा मगरले राख्नुभएको थियो ।
सो कार्यक्रममा विभिन्न संघसंस्थाहरूका प्रतिनिधि, समाजसेवीहरू, ब्यवसायीहरू,पत्रकारहरू र समाजका प्रतिस्थिट ब्यक्तिहरूको पनि बाक्लो उपस्थिति रहेको थियोे ।

Advertisment