रोल्पा, २६ फागुन
रसिया र युक्रेनको लडाईँमा रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ। बुढाथोकीको मृत्युको खबरले परिवार सहित पुरै गाउँनै शोकमा डुबेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए। पराजित बनेपछि उनी रसिया गएका थिए।
सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको थियो। वडाको पूर्वअध्यक्ष समेत भइसकेका ब्यक्ति यसरी रूसी सेनामा जानुले देशको बिग्रदो अबस्थाले भन्दै फेसबुकमा बुढाथोकीकै गाउँका चर्चित स्ट्याण्डअप कमेडीयन खपबु चन्चल मगरले फेसबुकमा यस्तो लेखेका छन, जीवन ठूलो की पैसा ठूलो ? हाम्रो सुनछहरी गाउँपालिका ५ नम्बर जैमाकसलाका निवर्तमान वडा अध्यक्ष तिर्ख बहादुर बुढाथोकी रसियन सेनामा जानुभएको पनि आज फेसबुकले गर्दा थाहा भयो । त्यत्रो वर्ष देशको लागि लड्नु भयो अनि ५ वर्ष स्थानीय सरकार पनि चलाउनु भयो आखिर बलिदान अर्को देशलाई दिनु भयो आज तपाइको तस्बिरलाई प्रश्न गर्न मन लाग्यो यो व्यवस्थाले अझै पनि तपाईं हामी यसरी नै मर्नु पर्ने हो ? र कहिले सम्म मर्नु पर्ने ? युद्धमा मरिन्छ भन्ने थाहा हँदाहुँदै ५ वर्ष वडा अध्यक्ष चलाएको नेता के का लागि जानु भयो ? हाम्रो जीवन भन्दा पैसा नै ठूलो हो र दाई ? आज एउटा असल र इमान्दार नेतृत्व गुमाएका छौं ! दुखको यस घडीमा भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दछु साथै सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । मनमा धेरै प्रश्न बोकेर फेसबुकमा फोटो टाँस्न बाहेक अरु सकेन अल बिदा दाई !
परिवारले फागुन २४ गतेमात्र उनको मृत्यु भएको थाहा पाएका थिए। बुढाथोकीको परिवारमा बुबाआमा, पत्नी, एक छोरा र एक छोरी छन्।
