पोखरा, ७ फागुन
भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय, पोखराको आयोजनामा आजदेखि अन्तर बटालियन भूपू भलिबल प्रतियोगिता–२०२५ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन बुधबार एक समारोहका बीच भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले गर्नुभयो । प्रतियोगिताको फाइनल आगामी मार्च २ तारिखमा हुने आयोजक कार्यालयका बीबी पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा भारतीय सेनाका विभिन्न बटालियनका भूपू गोर्खा सैनिक सम्मिलित टिम र आयोजक गरी २३ टिम सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा ७/८ गोर्खा राइफल र ५/९ गोर्खा राइफलबीच भएको प्रतिस्पर्धामा २–० को सोझो सेटमा ५/९ गोर्खा राइफल विजयी भयो । त्यस्तै, दोस्रो खेलमा आयोजक पेन्सन वितरण कार्यालय, पोखरा र ६/५ गोर्खा राइफलबीच भएको प्रतिस्पर्धामा २–० को सोझो सेटमा पेन्सन वितरण कार्यालय विजयी बन्यो । त्यसैगरी, तेस्रो खेलमा ४/३ गोर्खा राइफल र ४/९ गोर्खा राइफलबीच भएको प्रतिस्पर्धामा ४/९ गोर्खा राइफल विजयी भयो भने बुधबारको चौथो तथा अन्तिम खेलमा २/९ गोर्खा राइफल र २/५ गोर्खा राइफलबीच भएको प्रतिस्पर्धामा २/९ गोर्खा राइफल विजयी भयो । भोलीको पहिलो खेल ६/८ गोर्खा राइफल र १/१ गोर्खा राइफलबीच हुनेछ भने दोस्रो ४/८ गोर्खा राइफल र ५/४ गोर्खा राइफल, तेस्रो १/३ गोर्खा राइफल र ४/५ गोर्खा राइफल तथा चौथो तथा अन्तिम खेल १/४ गोर्खा राइफल र ५/३ गोर्खा राइफलबीच हुने पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । जसमा नेपाल एसबीआई बैंकले प्रथम पुरस्कार, एभरेष्ट बैंकले द्वितीय पुरस्कार र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तृतीय पुरस्कार प्रायोजन गरेको छ ।