काठमाडौं, २२ पुस
लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा शनिबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले लगानीकर्तालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । विदेशमा पसिना बगाएर कमाएको पैसा स्वदेशमा लगानी गर्न सामूहिक लगानी कम्पनीको स्थापना गर्नु आफैंमा प्रशंसनीय रहेको भन्दै व्यवसाय सफल बनाउन इमान्दारिता जरुरी रहेको बताउनुभयो ।
ऐतिहासिक र सांस्कृतिक सम्पदा जोगाउने किसिमका व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिँदै उहाँले पर्यापर्यटनलाई व्यवसायसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानीयलाई रोजगारी दिँदै विभिन्न व्यवसायिक परियोजना अघि बढाउन सुझाव दिँदै उपसभामुख रानामगरले व्यवसाय सुरुवात गर्नु अघि विभिन्न खालका अध्ययन अति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल मगर संघका अध्यक्ष एवं लाफा ग्रुप लिमिटेडका संस्थापक सञ्चालक ज्ञानेन्द्र पुनमगरले मगर समुदायलाई आर्थिक समृद्धिसँग जोड्न यस्ता सामूहिक लगानी कम्पनीले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । नेपाल मगर संघ सम्पूर्ण मगर जातिको छाता संस्था भएको र गैरनाफामूलक संस्था भएको भन्दै उहाँले मगर समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउन सामूहिक लगानी कम्पनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो । भावनामा बगेर व्यवसाय अघि बढ्न नसक्ने भन्दै अध्यक्ष पुनमगरले व्यवसायिक सोंचका साथ अघि बढ्न मगर समुदायलाई आग्रह गर्नुभयो ।
कम्पनीका सल्लाहकार एवं चार्टर्ड एकाउण्टेण्ट निल सारूमगरले व्यवसाय सञ्चालन गर्दा दिलले नभइ दिमागले चल्नु आवश्यक रहेको बताउनुभयो । भावनामा बगेर व्यवसायिक बन्न नसकिने धारणा व्यक्त गर्दै उहाँले व्यवसायिक सोंचको विकास नभएसम्म कुनै पनि व्यवसाय सफल हुन नसक्ने भनाइ राख्नुभयो । देशभित्रै केही गर्न सकिन्छ भनेर सोंच राखेर थोरै थोरै पूँजी एकीकृत गरेर सामूहिक लगानी कम्पनी खोलिएको भन्दै सारूमगरले अल्पकालीनसँगै दीर्घकालीन खालका व्यवसायमा लगानी गर्दै जानुपर्ने बताउनुभयो ।
लाफा ग्रुप लिमिटेड, दक्षिण कोरियाका संयोजक एवं मगर संघ, दक्षिण कोरियाका पूर्व अध्यक्ष खड्ग थापामगरले संख्यामा नभइ गुणस्तरमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै सही योजना बनाएर व्यवसाय गर्दा सफल हुन सकिने धारणा व्यक्त गर्नुभयो ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेमगरको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन कम्पनीका सञ्च्ँल्क् रक्षाबहादुर रैकामगरले गर्नुभएको थियो भने अर्की सञ्चालक मनमाया थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना र चार्टर्ड एकाउण्टेण्ट जनक थापामगरले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
साथै, कम्पनीले आफ्ना शेयर सदस्यलाई ४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निर्णय पनि साधारणसभाले अनुमोदन गरेको छ । ३५ जना शेयर सदस्यको सामूहिक लगानीमा लाफा इन्भेष्टमेण्ट प्रालिका रुपमा स्थापित सो कम्पनी हाल पब्लिक कम्पनीका रुपमा लाफा ग्रुप लिमिटेड बनेको छ । कम्पनीमा हाल ५ सय ८५ शेयर सदस्य रहेका छन् ।
लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न
२२ पुष २०८१, सोमबार
10

Advertisment