मगर संघ, हङकङले माघे सकराती भव्य रुपमा मनाउने

जनवरी ४, हङकङ
मगर संघ, हङकङले मगर जातिको प्रमुख सांस्कृतिक चाड माघे सकराती भव्यताका साथ मनाउने तयारी गरेको छ । मगर संघ, हङकङले यही जनवरी १२ तारिखका दिन माघे सकराती मेला २०२५ आयोजना गर्ने भएको हो ।
हङकङको टाइटोङ कन्ट्री पार्कमा आयोजना हुने माघे सकराती मेलामा नेपालबाट चर्चित गायक गायिकाहरू श्याम रानामगर, दिपिका बयम्बु मगर र युवराज मगर सांगीतिक प्रस्तुतीका लागि सहभागी हुन लागेको महासचिव झलक थापामगरले जानकारी दिनुभयो । मेलाको मुख्य आकर्षणका रुपमा चर्चित कलाकारको सांगीतिक प्रस्तुतीसहित हङकङका कलाकारले समेत आ–आफ्नो प्रस्तुती राख्ने महासचिव थापामगरले बताउनुभयो ।
मेलामा मगर खानाका परिकारसँगै अन्य मगर मौलिक सांस्कृतिक नृत्यहरूको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार जसमा बीबीक्यू मासु, सेलरोटी, बारा, खिचडी, तरुल, बिरम्ला, चटनी, भुटुवालगायतका परम्परागत मगर खानाका परिकारका साथमा कौराहा, सोरठी, हुर्रा, नौमती बाजालगायतका मौलिक मगर सांस्कृतिक प्रस्तुती रहनेछन् ।
कार्यक्रम स्थलसम्म जान र आउनका लागि जोर्डन क्यान्टोन रोडबाट दिउँसो १२ः३० बजे, १ः३० बजे र युनलोङ क्याष्टल पिक रोड (सगरमाथा किण्डर गार्डेन स्कुलको तल)बाट दिउँसो १ः०० बजे बस छुट्ने समेत आयोजकले जानकारी दिएको छ ।

Advertisment