मगर भाषा प्रशिक्षणको समापन

पोखरा, १६ पुस
नेपाल मगर संघ, माटेपानी इकाई समितिसँगको सहकार्यमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सञ्चालित एक महिने मगर भाषा प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गरिएको छ ।
मगर भाषा प्रशिक्षणको समापन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले मगर जाति नेपालकै तेस्रो ठूलो जनसंख्या भएको समुदाय भएपनि मातृभाषा वक्ता कम हुनु चिन्ताजनक भएको बताउनुभयो । हरेक मातृभाषाको आफ्नो ठाउँमा महत्व रहेको भन्दै कुलपति खड्काले मगर जातिले आफ्नो मातृभाषा बोल्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले हरेक जातिको भाषा, संस्कृतिको संरक्षणमा विभिन्न काम गरेको जानकारी दिँदै उहाँले मगर भाषाको संरक्षणमा मगर समुदाय सबैभन्दा बढी जागरुक हुनुपर्ने बताउनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेलले मगर भाषा सिक्न मगर समुदायको उत्सुकता देखेर आफू निकै प्रभावित भएको बताउँदै आफ्नो मातृभाषा सिक्न माटेपानीका मगर समुदाय लालायित भएको देख्दा साँच्चै खुशी लागेको उल्लेख गर्नुभयो । नेपाल मगर संघ, कास्कीका सहकोषाध्यक्ष डिलबहादुर श्रीसमगरले एक महिनाको मगर भाषा कक्षामा आफू पनि प्रशिक्षार्थीका रुपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै एक महिनाको समय थोरै भएपनि धेरै हदसम्म मातृभाषामा सामान्य बोलचाल गर्न सक्ने भएको बताउनुभयो । मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष यामबहादुर थापामगरले बोलीचाली र व्यवहारमा अभ्यास नगरेसम्म भाषा सिक्न कठिन हुने जनाउँदै सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरले मगर भाषा सिकाउने अभियानलाई हरेक टोल र इकाईमा लैजान आवश्यक रहेकोमा जोड दिँदै एक महिनाको अवधिमा आफूले पनि प्रशिक्षार्थीका रुपमा धेरै कुरा सिक्न पाएको भनाइ राख्नुभयो । नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी अध्यक्ष तुलसी थापामगरले आफूलाई मगर भाषा प्रशिक्षण निकै प्रभावकारी लागेको भन्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल मगर संघ, माटेपानी इकाई समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरले मगर भाषा कक्षा सञ्चालनमा सहयोग गरेको भन्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले प्रशिक्षार्थीहरूको लगनशीलता र सक्रियताले आफू निकै प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघ, माटेपानी इकाई समितिकी पूर्व अध्यक्ष एवं सल्लाहकार देउरुपा श्रीसमगर, अर्की सल्लाहकार दुर्गा रानामगर, प्रशिक्षार्थीहरूको तर्फबाट सीतादेवी पुनमगर र क्या. दामप्रसाद दर्लामीमगरले आ–आफ्नो अनुभव र भनाइ राख्नुभएको थियो । सो अवसरमा मगर भाषा प्रशिक्षणका क्रममा लिइएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः देउरुपा श्रीसमगर, तुलसी थापामगर, मुन्नु थापामगर र नन्दकुमारी आलेमगरलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । सो नगद पुरस्कारको लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्राज्ञ कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो ।


नेपाल मगर संघ, माटेपानी इकाई समितिका अध्यक्ष सुबेदार नारायणसिंह मास्की रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मुन्नु थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष ई. बमबहादुर श्रीसमगरले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले मगर भाषामा झ्याउरे गीत समेत प्रस्तुत गरेको थिए भने कौराहा नाच समेत प्रस्तुत गरेका थिए । सो मगर भाषा प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो भने मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले एक महिनासम्म सहजीकरण गर्नुभएको थियो ।

 

Advertisment