पोखरा, २९ पुस
नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन, पर्यटकीय राजधानी पोखरामा सुरु भएको छ । शनिबार पोखरा सभागृहमा भएको महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै वक्ताहरूले मगर जातिको एकतामा जोड दिएका छन् ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले फुटेर होइन, जुटेर अघि बढ्न मगर समुदायलाई आह्वान गर्नुभयो । नेपालको सबैभन्दा ठूलो आदिवासी जनजाति समुदाय मगरबाट फुटेर छुट्टै जाति बन्ने कुनै आधार नभएको भन्दै अध्यक्ष थापामगरले पुन मगर जातिकै एक मुख्य थर भएको दाबी गर्नुभयो । मगर जातिसँग विशिष्ट पहिचानसहितको संस्कृति भएको भन्दै उहाँले बृहत मगर पहिचानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । मगर जातिको मुख्य थर मध्येको एक पुनलाई मगर होइन भन्नु बकवास र आधारहीन रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले मगर जातिलाई एकताबद्ध बनाउन आवश्यक रहेको भन्दै मगर भाषा, संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन छलफल अघि बढेको भन्दै उहाँले प्रदेश भाषा ऐन बनाएर कार्यान्वयन गर्न पहल भइरहेको उल्लेख गर्नुभयो ।
नेपाल सरकारका पूर्व मन्त्री गणेशमान पुनमगर (रश्मी)ले पुन छुट्टै जाति हुनै नसक्ने भन्दै पुन छुट्टै हौं भन्नेहरूको बुझाइमा समस्या रहेको जिकिर गर्नुभयो । मगर जातिको एकतालाई कसैले तोड्न नसक्ने भन्दै उहाँले राज्यका विभिन्न संयन्त्रलाई खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै, पूर्व मन्त्री एवं नेपाल पुन मगर समाजका संरक्षक उत्तम पुनमगरले पुन थरका केही व्यक्तिले नचाहिने हाउगुजी फैलाएको भन्दै मगर जातिको विभाजन गर्न खोज्ने षड्यन्त्र भएको उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगरले जुनसुकै थरका मगर भएपनि सबै मगर एउटै भएको बताउनुभयो । मगर जातिको पुन थरलाई तथ्यांक विभागले षड्यन्त्रपूर्वक तथ्यांकमा छुट्टै सूचीकरण गरी निकालेको भन्दै अध्यक्ष रोकामगरले राज्यले गर्ने षड्यन्त्रका विरुद्धमा सम्पूर्ण मगर एक भएर प्रतिवाद गर्ने चेतावनी दिनुभयो । थरलाई जात भन्नेहरू जिउँदो लाश भएको भन्दै उहाँले इतिहासमा गुमाएको मगर जातिको राजनीतिक अधिकार पुनस्र्थापित गर्न मगरहरू एक हुनुपर्ने बताउनुभयो ।
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले राज्यका महत्वपूर्ण ओहदामा पुन मगरहरू मगर समुदायको प्रतिनिधित्व गर्दै पुग्न सफल भएको भन्दै पुनलाई मगर होइन भन्नेहरू कुनै व्यक्तिगत स्वार्थ र षड्यन्त्रमा फसेको दाबी गर्नुभयो । मगर जातिलाई एकताबद्ध बनाउन मगर संघ लागिपरेको भन्दै उहाँले मगरको एकतालाई भाँड्न चाहनेहरूको समयक्रमसँगै पर्दाफास हुने बताउनुभयो । समाजका सल्लाहकार डा. चिनबहादुर पुनमगरले आफूलाई मगर नभइ पुन जाति भन्न रुचाउनेहरू सच्चिएर आउनुपर्ने बताउनुभयो ।
“मगर खाम भाषा, संस्कार, संस्कृति र भेषभूषा, हाम्रो जातीय पहिचान, सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन” भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा पूर्व मन्त्री नरदेवी पुनमगर, नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष एवं सुनछहरी गाउँपालिका, रोल्पाका अध्यक्ष धनबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामालगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरलाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यसैगरी, सुनछहरी गाउँपालिका, रोल्पाका अध्यक्ष धनबहादुर पुनमगर, मिस मगर नेपाल–२०२४ की बिजेता कृष्टिना पुनमगर, फष्ट रनर अप आशिका गर्बुजा पुनमगर, सेकेण्ड रनर अप नरिशा पुनमगर, मिस मगर नेपाल–२०२३ की फष्ट रनर अप दिवा पाइजा पुनमगर, भ्यूअर्स च्वाइस उमा पुनमगर र मिस मगर नेपाल–२०२२ की थर्ड रनर अप प्रियंका गर्बुजा पुनमगरलाई सम्मान गरिएको थियो ।
नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पहरे पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव खेम पुनमगरले गर्नुभएको थियो ।