दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेशको शुभकामना आदानप्रदान

पोखरा, २२ असोज
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको आयोजनामा नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान, बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कलाकार कुनै दल विशेषको मात्र हुनु विडम्बना भएको बताउनुभयो । लोकदोहोरी क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै मन्त्री खड्काले लोकगीत र संस्कृतिको विकासमा कलाकारहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
कला, साहित्य र संगीतको विकासका लागि प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरेको जनाउँदै उहाँले सीमित साधन र स्रोतको बावजुद पनि प्रतिष्ठानले विभिन्न गतिविधिलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नुभयो । प्रदेश सरकारसँग सीमित स्रोतका कारण चाहेर पनि विभिन्न क्षेत्रको विकासमा सहयोग गर्न नसक्ने अवस्था रहेको भन्दै मन्त्री खड्काले आवश्यकता र उपलब्ध स्रोत, साधनको बीचमा ठूलो अन्तर रहेको बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशका प्रमुख संरक्षक, वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले कुनै दलको सदस्यता नलिएसम्म कला क्षेत्रले सम्मान नपाउने अवस्था हुनु दुर्भाग्य र दुःखलाग्दो भएको बताउनुभयो । गण्डकी प्रदेश सरकार कुनै दलविशेषको मात्र नभएको भन्दै गायक पराजुलीले सरकार सबैको अभिभावक बन्न सक्नुपर्ने बताउनुभयो । राजनीतिमा सक्रिय नभएसम्म कलाकारले समेत राज्यमा अवसर र सम्मान पाउन नसक्ने अवस्था रहेको बताउँदै उहाँले कलाकारलाई राजनीतिमा क्रियाशील हुन अपिल समेत गर्नुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले प्रतिष्ठानले दोहोरी प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै दोहोरी क्षेत्रलाई विकृति, विसंगतिरहित बनाउनुपर्नेमा जोड दिनुभयो । विचार र क्षमतासहितको प्रतिभालाई राज्यले चिन्नुपर्ने बताउँदै कुलपति खड्काले कला, साहित्य र संगीतको विकासका लागि प्रज्ञा प्रतिष्ठान सबैलाई समेटेर अघि बढ्ने उद्घोष समेत गर्नुभयो ।
लोकसंस्कृतिविद् डा. तुलसी प्रभासले कलाकारलाई राज्यका गहना भनिएपनि व्यवहारमा उपेक्षामा परेको भन्दै कलाकारको योगदानलाई राज्यले चिन्नुपर्ने बताउनुभयो । कलाकारले गीत गाएर मात्रै नहुने भन्दै डा. प्रभासले गीत कालजयी र जीवन्त हुनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्ण परियार र सह–सचिव ज्योति लोहनीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न नियुक्ति, उपाधि प्राप्त तथा निर्वाचित व्यक्तित्वहरूलाई बधाई ज्ञापनसँगै सम्मान समेत गरिएको थियो ।

Advertisment