बाजुङ समाज, हङकङद्वारा बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

बाजुङ (पर्वत), ८ असार
पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङ घर भइ हाल हङकङमा कार्यरत बाजुङबासीहरूले आफ्नो जन्मभूमिका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोभिड–१९ महामारीको विश्वव्यापी प्रभाव रहेका बेला बाजुङमा स्वास्थ्य सामग्री अभाव नहोस् र स्थानीय जनताको उपचारमा कुनै समस्या नहोस् भनेर बाजुङ समाज, हङकङले हङकङमा रहेका बाजुङबासी एवं गैर बाजुङबासी शुभचिन्तकहरूबाट सहयोग संकलन गरी बाजुङ स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
बाजुङ समाज, हङकङका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार, समाजसेवी दुर्गा गुरुङ “मिलन”को अगुवाइमा सुरु गरिएको सहयोग संकलन अभियानमार्फत् अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको हो । जसका लागि समाजसेवी गुरुङले १ लाख २० हजार रुपैयाँ र समाजसेवी गुरुङकी श्रीमती एवं मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ सहयोग गरेको अभियान सुरु गरिएको थियो ।
बाजुङ समाज, हङकङले पठाएको स्वास्थ्य सामग्री सोमबार हस्तान्तरण गरिएको छ । ती स्वास्थ्य सामग्री बाजुङ समाज, हङकङका प्रतिनिधि जयबहादुर सुवेदी, चन्द्रा शर्मा र दिलकुमारी गुरुङले वडाध्यक्ष दलबहादुर मल्ल र बाजुङ स्वास्थ्य चौकीका प्रमुख गोकुल अधिकारीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू राजेश शाही, अम्मर अधिकारी, ताराखर अधिकारी, मानबहादुर अधिकारी, दुर्गा मल्ल, विदुर हमाल, जयबहादुर अखेली, मनबहादुर क्षेत्री, सन्तोष पौडेल, प्रभा मल्ललगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश पौडेल “सुमन”ले गर्नुभएको थियो ।
यसैबीच, समाजसेवी दुर्गा गुरुङ “मिलन”को पहलमा ५ लाख रुपैयाँको आपतकालीन एवं दीर्घकालीन स्वास्थ्य अक्षयकोष स्थापना गरिने भएको छ । अक्षयकोषमार्फत् आउने ब्याजको २० प्रतिशत मूल कोषमै रहने र बाँकी ८० प्रतिशत रकम बाजुङ स्वास्थ्य चौकीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद र विपन्न वर्गका बिरामीको उपचारमा प्रयोग गरिने समाजसेवी गुरुङले जानकारी दिनुभयो ।

Advertisment