आफ्नो जन्मदिनमा रेखाले गरिन् ८५ वर्षीय एकल महिलालाई नगद सहयोग

गोरखा, २३ कात्तिक
सामाजिक अभियन्ता रेखा तामाङले आफ्नो जन्मदिनको अवसर पारेर आइतबार गोरखा नगरपालिका वडा नं. ११, एघार किलोकी ८५ वर्षीया ज्येष्ठ एकल महिला मनु परियारलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिन मनाउन खर्च हुने रकममध्येबाट अभियन्ता रेखाले एकल महिला परियारलाई १० हजार १ रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।


त्यस्तै, अभियन्ता रेखाको पहलमा गोरखा–११, तेह्र किलोमा रहेको चन्द्रज्योति आधारभूत विद्यालयमा अक्षयकोषको स्थापना भएको छ । अभियन्ता तामाङले विभिन्न व्यक्तिहरूमार्फत संकलन गरेका ७८ हजार रुपैयाँले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि अक्षय कोष निर्माण गरिएको हो ।
सो अक्षयकोष निर्माणका लागि दुबईबाट नवीन सुनुवार कोइँचले २० हजार, पोखराका दुर्गा लामिछाने गुरुङले १० हजार १, दक्षिण कोरियामा कार्यरत इन्द्र लिम्बू, रमेश भण्डारी, चितवनका जितेन्द्र श्रेष्ठ, दुबईबाट गोपाल श्रेष्ठ, वसन्ती तामाङ, बेलायतबाट रोशन गुरुङ र सर्लाहीका सञ्जीव मोक्तानले ५/५ हजार रकम सहयोग गर्नुभएको छ । यसैगरी, दुबईमा कार्यरत रामबहादुर कुँवरले ३ हजार र दक्षिण कोरियाबाट पारुहाङ राईले सहयोग गरेको १० हजार गरी कुल ७८ हजार रुपैयाँको अक्षयकोष निर्माण गरिएको विद्यालयले जनाएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर विकको अध्यक्षता तथा गोरखा नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय प्रतिशा अधिकारी, कृष्णप्रसाद लामिछाने, उदयनन्द सिंखडा, विमला श्रेष्ठ, रुपा भट्टलगायतले मन्तव्य राखेका थिए । तामाङले यस अघि पनि फुजेलका अपाङ्ग परिवारको घर निर्माण गरिदिनुका साथै विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

Advertisment