विद्यालय खोल्न सरोकारवालाबीच छलफलको आवश्यकता ः मन्त्री पुन

पोखरा, ३ असोज
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्नका लागि सरोकारवालाहरूबीच छलफलको आवश्यकता रहेको बताउनुभएको छ ।
मन्टेश्वरी एशोसिएसन कास्कीले शनिबार आयोजना गरेको पूर्व प्राथमिक विद्यालय सबलीकरण भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्यालय, अभिभावक, सरोकारवाला सम्पूर्ण निकायले उचित छलफल गरी कोभिड–१९ को सुरक्षा नीति अवलम्बन गर्दै विद्यालय खोल्नेबारे निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । त्यसैगरी, पोखरा महानगरपालिकाका शैक्षिक योजनाविद् बाबुराम भण्डारीले पूर्व प्राथमिक तहका लागि नीति निर्माण गर्न महानगरले बालबालिकासँग सम्बन्धित निकायहरूसँग सहयोग एवं समन्वय गरिने बताउनुभयो ।
कार्यक्रममा एशोसिएसनकी अध्यक्ष मिलन केसीले अहिलेको परिस्थितिमा प्रदेश सरकारलगायत पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको पूर्व प्राथमिक विद्यालयहरूको बारेमा नीति नियम सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, मनोविद् डा. सुशील कँडेल, एशोसिएसनकी उपाध्यक्ष शाल्भि मर्सानी, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक रीतादेवी सुवेदी, सचिव सावित्री थापा मोक्तानलगायतले बोल्नुभएको थियो ।

Advertisment