राष्ट्रपति भण्डारीसँग गण्डकी प्रदेश प्रमुख शेरचनको शिष्टाचार भेट

काठमाडौं, ६ साउन
राष्ट्रपति विद्यादेवी भण्डारीसँग गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिष्टाचार भेट गर्नुभएको छ ।
मंगलबार भएको भेटका अवसरमा प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशलगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट भएको धनजनको क्षति एवं कोभिड–१९ को प्रभावबारे राष्ट्रपति भण्डारीलाई अवगत गराउनुभएको थियो । सो अवसरमा राष्ट्रियता तथा वर्तमान समसामयिक विषयमा समेत छलफल भएको प्रदेश प्रमुख शेरचनका प्रमुख स्वकीय सचिव गगन थापाले जानकारी दिनुभयो ।
प्रमुख स्वकीय सचिव थापाका अनुसार प्रदेश प्रमुख शेरचनले केही समय पहिले सात वटै प्रदेशका प्रदेश प्रमुखहरूबाट पेश गरिएको सुझावबारे समेत राष्ट्रपति भण्डारीलाई स्मरण गराउनुभएको थियो । भेटका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता र सहमतिबाटै सबै समस्याको निकास निस्कने विश्वास दिलाउनुभयो । राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख शेरचनबीच करिब एक घण्टा छलफल भएको थियो ।

Advertisment