नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन घण्टा छलफल

काठमाडौं, १९ असार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको अन्तरविरोध चर्किँदै जाँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार तीन घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवासी बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्षले एक आपसमा मन माझामाझ गरेको बताइएको छ । महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लाई साक्षी राखेर दुवै अध्यक्षले छलफल गरे पनि आ–आफ्नै अडानमा कायम रहेको बताइएको छ ।
झण्डै फुटको संघारमा पुगेको नेकपामा अझै पनि पार्टी एकता जोगाउन अनेक प्रयास भएका छन् । यस बीचमा दुई अध्यक्षबीच छलफल भएको हो । शनिबार बस्ने स्थायी समिति बैठक अघि फेरि दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टी दुवै संकटमा फसेको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले माग गरेको छ ।

Advertisment