सामुदायिक खोप केन्द्रलाई समाजसेवी गुरुङको १ लाख बढी आर्थिक सहयोग

पोखरा, ११ असार
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित निर्माणाधीन सामुदायिक खोप केन्द्रका लागि हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले १ लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ ।


समाजसेवी गुरुङले गर्नुभएको १ लाख १ हजार २ सय रुपैयाँ आर्थिक सहयोग बिहीबार एक कार्यक्रमका बीच केन्द्रको उपभोक्ता निर्माण समितिलाई हस्तान्तरण गरिएको छ । मिलन फाउण्डेशन नेपालमार्फत् गरिएको सो सहयोग रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्वतका जिल्ला सदस्य मनबहादुर पौडेल र बाजुङ–पोखरा सम्पर्क समितिका उपाध्यक्ष जयबहादुर सुवेदीले संयुक्त रुपमा निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोगका लागि मिलन फाउण्डेशन नेपालका सचिव मदन गुरुङले सहजीकरण गर्नुभएको थियो ।
सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपाका पर्वत जिल्ला सदस्य पौडेलले समाजले सच्चा दाताको पहिचान गर्न सक्नुपर्ने बताउँदै समाजसेवी गुरुङले निःस्वार्थ भावले आफ्नो गाउँ ठाउँलाई सहयोग गर्दै आएको बताउनुभयो । समाजसेवी गुरुङको निःस्वार्थ समाजसेवाको समाजले सही मूल्याङ्कन गर्नुपर्ने भन्दै पौडेलले मनकारी समाजसेवीको उचित सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


मोदी गाउँपालिका वडा नं. ५ का वडा सदस्य इन्द्रप्रसाद उपाध्यायले समाजसेवी गुरुङ र उहाँको परिवारप्रति सहयोगका लागि धन्यवाद दिँदै निःस्वार्थ सामाजिक कार्यमा लाग्नेको कमी भएको बेलामा उहाँको सहयोग अमूल्य रहेको उल्लेख गर्नुभयो । निर्माण समितिका सचिव धर्मदत्त शर्माले दाताको दानलाई पारदर्शी रुपमा खर्च गर्दै समितिका तर्फदेखि मिलन फाउण्डेशन नेपालका संरक्षक समेत रहनुभएका समाजसेवी गुरुङ र अध्यक्ष गंगाकुमारी गुरुङप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
कोभिड–१९ को महामारीका कारणले सामाजिक दूरी कायम राख्दै सेवा क्षेत्रका प्रतिनिधिमूलक रुपमा सहभागी रहेको उक्त सहयोग हस्तान्तरण कार्यक्रम सामुदायिक खोप केन्द्र निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता र खोप केन्द्र निर्माण उपभोक्ता समितिका सल्लाहकार तथा अनुगमन समितिका सदस्य लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् आफ्नो गृहजिल्ला पर्वतसहित पाल्पा, कास्की, लमजुङ, चितवनलगायतका जिल्लाहरूमा सामाजिक कार्यमा विशुद्ध आफ्नो कमाइबाट सहयोग गर्दै आउनुभएको छ ।

Advertisment