समतामूलक समाज निर्माणमा बुद्धका उपदेश प्रेरणादायी ः प्रदेश प्रमुख शेरचन

पोखरा, २५ वैशाख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले २५६४ औं बुद्ध जयन्ती, किरात समुदायको उभौली पर्व तथा चण्डी पूर्णिमाको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।
शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शेरचनले महामानव सिद्धार्थ गौतम बुद्धका उपदेश समतामूलक समाज निर्माणका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ । बुद्धका उपदेश र मार्गदर्शन पालना गरेर राष्ट्रिय एकता र आपसी सद्भाव सुदृढ बनाउन सकिने उल्लेख गर्दै उहाँले आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय एकता र दिगो शान्ति जरुरी रहेको बताउनुभएको छ ।
बुद्ध जयन्ती मनाइरहँदा विश्वव्यापी कोरोना महामारीको अवस्था रहेको भन्दै उहाँले कोरोनाविरुद्धको लडाइँमा सफलता प्राप्त गर्न बुद्धका उपदेश र मार्गदर्शनले उच्च मनोबल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गरेर कोरोनालाई जित्न सकिने प्रदेश प्रमुख शेरचनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । पर्याप्त पीसीआर परीक्षण गर्ने र सिमाना नियन्त्रणमा विशेष ध्यान दिइ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सफलता मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।
नेपालमा विविध जातजाति र संस्कृति भएको मुलुक भएको उल्लेख गर्दै उहाँले किरात समुदायको उभौली पर्वले आपसी सद्भाव र एकता कायम गर्न मदत पु¥याउने उल्लेख गर्नुभएको छ । साथै, यस अवसरमा आपसी सहिष्णुता, सद्भाव कायम गर्दै विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिल्ने विश्वास प्रकट गर्नुभएको छ ।

Advertisment