मगर संघ, नमुना एकाइको एक महिने मगर भाषा कक्षा समापन

पोखरा, ९ चैत्र
नेपाल मगर संघ, नमुना एकाइ समिति, पोखरा–१४, चाउथे, कास्कीको आयोजनामा सुरु भएको एक महिने मगर भाषा कक्षाको आइतबार समापन गरिएको छ ।
गत माघ २२ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको आइतबार समापन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक एकाइ र मगर बस्तीमा मगर भाषा सिकाउने अभियानको सुरुवात गर्न लागेको जानकारी दिनुभयो । मगर जातिको मातृभाषा लोप हुने क्रममा रहेको भन्दै उहाँले मगर भाषा बचाउन हरेक एकाइ र वडामा मगर भाषा कक्षा चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर भाषा प्रशिक्षण चलाएर नमुना एकाइले नमुना कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले मगर भाषा सिकेर मात्रै नहुने भन्दै बोलीचालीमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले निरन्तर अभ्यास र कुराकानीमार्फत् नै मगर भाषा सिकाइलाई दिगो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
मगर भाषाका प्रमुख प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले छोटो समय भएपनि मगर भाषा सिकाइको उपलब्धी निकै राम्रो रहेको बताउँदै प्रशिक्षार्थीहरूले भाषा सिकाइप्रति दिएको चासोको प्रशंसा गर्नुभयो । अर्की प्रशिक्षक विनु थापामगरले मगर भाषा सिक्ने इच्छा र चाहना भए मात्र सिकाइ सहज हुने भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मगर भाषाका प्रशिक्षार्थीहरू टिकाकुमारी थापामगर, कृष्णबहादुर पुनमगर, दिलबहादुर गर्बुजामगर, सुमित्रा थापामगर, चमेली बुढामगर, दुर्गा श्रीसमगर र दिलु फगामीमगरले आफूहरूलाई मगर भाषा सिक्ने समय थोरै भएको महसुस भएको बताउँदै सिकेका कुरालाई आफ्ना छोराछोरीलाई सिकाउन सके मगर भाषा उत्थानमा टेवा पुग्ने बताउनुभयो ।


नेपाल मगर संघ, नमुना एकाइ समितिका अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सल्लाहकार सु. बलबहादुर थापामगर र सचिव शिव थापामगरले पनि बोल्नुभएको थियो ।

Advertisment