देशमा नैतिकता र अनुशासनको खडेरी ः प्रदेश प्रमुख शेरचन

पोखरा, २० फागुन
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशमा नैतिकता र अनुशासनको खडेरी देखिएको बताउनुभएको छ ।
नेपाल सितोरियो कराँते महासंघको आयोजनामा पोखरामा मंगलबारदेखि सुरु भएको टेक्निकल सेमिनारको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नैतिकता र अनुशासनको समस्यालाई बेलैमा नसच्याइए देश विकास अधोगतितर्फ उन्मुख हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजनीतिलाई नैतिक आचरणभित्र रहेर अघि बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले राजनीति असल भए देश विकासले गति लिने भनाइ राख्नुभयो ।
अनुशासन र नैतिक आचरणका लागि कराँते खेलको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले कराँते खेलाडीहरूलाई देशका लागि खेल्न आग्रह गर्नुभयो । सिंगो देशलाई एकताबद्ध गर्न र नेपाली माटोको पहिचानका लागि खेलकुद क्षेत्रले सघाएको उल्लेख गर्दै उहाँले युवा शक्तिलाई अनुशासित र नैतिकवान बनाउन कराँते खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सांसद् नवराज सिलवालले अनुशासित र आचरणयुक्त समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भनाइ राख्नुभयो । कराँते खेलबाट देशलाई विश्वमा चिनाउन टेवा पुगेको बताउँदै उहाँले नेपालमा कराँते खेलको विकास आवश्यक रहेको जोड दिनुभयो । विश्व सितोरियो कराँते महासंघका अध्यक्ष एवं कराँतेका ग्राण्ड मास्टर गेञ्जो इवाताले स्वास्थ्य र देश दुवैका लागि कराँते खेल अति महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल सितोरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकार राजीवकुमार थापा र सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’ले पनि बोल्नुभएको थियो । यही फागुन २२ गतेसम्म सञ्चालन हुने सेमिनारमा प्रथम डानदेखि छैठौं डानसम्म डान ग्रेडिङसहित ग्राण्ड मास्टर इवाताले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रवक्ता खपाङ्गीले जानकारी दिनुभयो ।

Advertisment